‘हो म अतिबादी हुँ’


सयौं बर्ष अघिदेखि
हामी माथि बज्रीरहेको
त्यो बज्रको प्रतिकारमा

पिडाको चीत्कार निस्किरहेछ
र त्यो चीत्कारलाई
तिमी अतिबादी भन्छौ,
हो, म त्यही अतिबादी हुँ ।

मेरो खाम कुरा
मेरा खाम गाउँहरु
मेरा खाम खोलानाला
खाम बनपाखाहरु

र सिंगो मेरो सभ्यता माथि
धावा बोल्यौ
र आफ्नो स्वामित्वमा गाभ्यौ,
आफ्नै ढंगले नामाकरण ग-यौ

त्यो गल्ति भयो,
यसो नगरौं भन्दा
तिम्रो बिस्तारबादी मनले
यदि मेरो आवाजलाई

अतिबादी भन्छ भने
हो, म अतिबादी नै हुँ ।

आफ्नै घरमा दासी जस्तो,
आफ्नै देशमा बिदेशी जस्तो,
तब हामी समानता माग्यौं,
त्यसलाई तिमी भिख मागेको मान्यौ,

र दियौ एकचोक्टा भिख,
जसलाई आरक्षण कोटा भन्यौ,
हामी भिखारी होइनौं,
हामीलाई कोटा होइन,

समानता चाहिन्छ भनेर
मुठ्ठि उचालेर चिच्याउदा
यदि म तिम्रो लागि अतिबादी भएँ भने
हो, म अतिबादी नै हुँ ।

मन्त्री किन तिमी मात्रै ?
प्रधानमन्त्री किन तिमी मात्रै ?
प्रधानन्यायाधीश किन तिमी मात्रै ?

अध्यक्ष किन तिमी मात्रै ?
सिडियो किन तिमी मात्रै ?
हामी किन संधै गुलाम ?

हामी पनि त्यो पदाधिकारको
हकदार हुन पाउनुपर्छ भन्दा

त्यो न्यायपुर्ण आवाजलाई तिमी
अतिबादी ठान्छौ भने
हो, त्यो आवाज अतिबादी नै हो ।

तिमी भन्छौ,
हामीले टुप्पी कसेर पढ्यौं,
ज्ञानी भयौं,

ज्ञानीले नै पद पाउने हो,
यसमा के लालच देख्यौ ?
तिमिहरु डोको बोक्यौ,

बिदेशीको सेना भयौ,
पैसा कमायौ,
खै हामीले लोभ गरेको ?
फेरि म भन्छु,

ईतिहास पढ,
त्यो त्रिपक्षिय सम्झौता,
कसले ग-यो ?
कसको स्वार्थमा भयो ?

जसले हामीलाई गुलाम बनायो,
लाहुरेको त्यो जिवनभरीको कमाईले
स्यानो शहरको कुनामा
घर किन्न सक्दैनौं ।

तर तिमी मन्त्री भएको दुई महिनामा
कसरी काठमाडौको मुटुमा दरबार ठड्यायौ ?
जब कि तिम्रो मन्त्री तलब भन्दा
मेरो तलव तेब्बर छ,

त्यो राज के हो भनेर सोध्दा
यदि मेरो शब्दहरुमा
तिमी अतिबादी देख्छौ भने
हो, त्यो शब्द अतिबादी नै हो ।

तिम्रो प्रगतिमा मलाई आरिस छैन,
तर चप्पल पड्काउदै
गाउँबाट काठमाडौ झरेको
हिजोको त्यो लुरे केटो

जो साइकलको पैदल दबाउने
ल्याकत थिएन,
आज कसरी पजेरोको एक्सलेटर दबाउने भयो ?
यो प्रश्न सोध्दा

यदि अतिबादी देख्छौ भने,
हो, त्यो प्रश्नकर्ता अतिबादी नै हो ।

तिमिले भन्यौ,
यो देशलाई,
स्विटजरल्याण्ड बनाउछौँ
सिंगापुर बनाउछौँ

अमेरिका बनाउछौँ
बेलायत बनाउछौँ
मैले भने,
होइन,

नेपाललाई नेपाल बनाऔं,
र नेपाललाई नेपाल जस्तै रहन दिऔं,
तर समृद्धि नेपाल चाहिँ बनाऔं भन्दा
अग्रगामी त्यो मेरो प्रस्ताबमा

यदि तिमले अतिबादी देख्यौ भने,
हो, त्यो प्रस्ताबकर्ता अतिबादी नै हो ।

त्यो अतिबादी
जसलाई तिमी अतिबादी बनायौ,
उसमाथि राजनैतिक अपराध ग-यौ,

उसको सभ्यतामाथि बलात्कार ग-यौ,
उसको जमिन माथी एकाधिकार जमायौ,
उसको धर्म र संस्कार माथी नाङ्गो नाच नाच्यौ,

तब उ अतिबादी भयो,
तिम्रो अत्याचारले
अतिबादी मनाएको
हो, त्यो अतिबादी म हुँ ।

दिपा बुढा मगर “दिलपुरा”
२०७७ भदौ २६ गते
रुकुम पुर्ब ।

२६ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको