बूढो माझीको देश


 – चन्द्र गुरुङ

दिलबहादुर माझीकवि - चन्द्र गुरुङनारायणीमाथि दिनहरू खियाउँछ
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्ली–गल्ली डुल्छ
रङहीन
स्वादहीन
आकारहीन
बिताउँछ पानीजस्तै जीवन ।

सबेरै पत्रिकाहरू आउँछन्
देशको अस्तव्यस्त खबर बोक्दै
झुपडीको छानामा झुन्डिएको
बूढो रेडियो झ्यारझ्यार गरिरहन्छ बेथितिको समाचार
दिलबहादुर माझी
खुम्चिएको निधार उचाल्दै सुस्ताउँछ थकान
छापिरहन्छ आफ्नो मनभरि ती प्रतिविम्बहरू
जो बोक्दै आँखाभरि घरपरिवार
सजाउँदै हृदयको भित्ताभरि देश
परदेसिएका छन् गहिरो नारायणीलाई तर्दै ।

आक्रोश चिच्याउँछन् यहाँ चोकहरू
बन्द–हडताल हिँड्छन् सडकहरू
यस्तो अप्ठ्यारो समयमा
दिलबहादुर कोरिरहन्छ अनेकथरी क्यानभास–
ती घरकुरुवा बुढ्यौली आँखाहरू
यौवनपूर्ण रातहरू पर्खिरहेको अधुरो सुहागरात
बाका चुम्बनमा लोभिने अबोध गालाहरू ।

नारायणी किनारमा एक्लो–एक्लो
दिलबहादुर माझी हेरिरहन्छ–
थुप्रै चिन्ताग्रस्त भरिया सहर पसेका
थुप्रै अभावग्रस्त जीवन सिमाना नाघेर गएका
ऊ तर्कनाको माछीजालमा छोपिरहन्छ–
परदेशमा बग्ने रगतपसिनाको सस्तो मोलभाउ
विरानो रणमा ‘आयो गोर्खाली’को विडम्बनापूर्ण नाद
र, मुम्बैया रेडलाइट एरियाको अँध्यारो ।

यो देश दुखिरहन्छ बूढो माझीको छातीमा जस्तै
असङ्ख्य असङ्ख्य मुटुहरूमा
…छप्ल्याङ …छुप्लुङ
…छप्ल्याङ …छुप्लुङ ।

२ श्रावण २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको