गृहमन्त्रीलाई सांसदको प्रश्न: विस्फोटमा मारिने नेपाली नभए कुन देशका नागरिक हुन्? (भिडियो)


जेठ १३, काठमाण्डौ । राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले गृहमन्त्री थापालाई घटनामा मारिने ‘कुन देशका नागरिक हुन् ’ भनी प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्यागेका कारण मुलुकमा पुन द्धन्द निम्तिएको भन्दै प्रश्न गरिन्, ’गृहमन्त्रीले राजधानीमा भएको विस्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?’

यस्तै सांसद देवेन्द्रराज कँडेलले द्वन्द्वकालीन समयमा तात्कालिन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही‘ भनी प्रश्न गरिन् ।उनले अगाडि थपिन्, “जो मरे पनि के ती नेपाली नागरिक होइनन् ? हिजो मरेका पनि नेपाली नागरिक होइनन् ?’

यस्तै सांसद डाक्टर मिनेन्द्र रिजालले सशस्त्र द्वन्द्वमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान नहुने बताए । उनले भने, गम्भीर बन्नुहोस् । हिजोका आफ्ना दिन सम्झनुहोस् । भोलि नेपालीलाई थप दुस्ख नदिनुस् । आग्रह गर्दछु ।’

सांसद राजेन्द्रकुमार केसीले बम विस्फोटसँगै राजधानीबासीहरु त्रसित भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति हुन नसकेको बताए । सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् ? भनी प्रश्न गरिन् ।

सांसद सुजाता परियार र सांसद पार्व्ति डिसी चौधरीले बम विस्फोटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् । यस्तै सांसद उमा रेग्मी र देवप्रकाश तिमिल्सिनाले राजधानीको बमकाण्डले सबैलाई तात्कालिन माओवादीको झल्को दिलाएको भन्दै वार्ता मार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

राजपाका सांसद शरदसिंह भण्डारीले राजनीतिक स्थायित्व र स्थिरतको जतिसुकै नारा लगाए पनि राजनीतिक समस्या अझै रहेको बताए ।त्यसैगरी, सांसद लक्षमणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासीलाइ नै चिन्तित बनाएको बताए

त्यसअघि गृहमन्त्री रामबहादुर थापाले आइतबार भएका विस्फोटका घटनामा मृत्यु हुनेमा सर्वसाधारण नागरिक नभएको बताएका थिए । उनले सर्वसाधाण नभएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताए ।

देशका विभिन्न ठाउँमा भएका विस्फोटका घटनाबारे सोमबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै उनले मारिएका चारजना र घाइते ६ जना नेकपाका कार्यकर्ता भएको बताए ।

हेर्नुहोस  भिडियो:

१३ जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको