रोल्पामा `जनयुद्ध दिवस’मा माओवादीले जितेका सात स्थानीय तहमा सार्वजनिक विदा

फाइल तस्बिर

माघ २९, रोल्पा । रोल्पाका स्थानीय तहहरुले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गतेका लागि सार्वजनिक विदा घोषणा गरेका छन् । दश स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले जितेको सात स्थानीय तहमा फागुन १ गते विदा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको राजपत्रअनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एकदिन सार्वजनिक विदा दिन मिल्ने प्रावधानअनुसार विदा दिइएको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले बताए । रोल्पा नगरपालिकाले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक विदा दिँदै नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जनयुद्ध व्यवस्था परिवर्तनका लागि महान दिन भएको बताउँदै विदा दिइएको बताए । ‘हामीले संविधान र प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर विदा दिएका छौं’ नगरप्रमुख घर्तीले भने, ‘जनयुद्ध सुरु गरेको दिनलाई सबै नेपालीले उत्सवको रुपमा मनाउनुपर्दछ ।’

जनयुद्धकै कारण मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा गएको भन्दै माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले यसलाई कसले मनाउने वा नमनाउने भन्दा पनि राष्ट्रिय पर्वकोरुपमा सबैले स्वीकार गर्नुपर्ने बताए । ‘जनयुद्ध दिवस’को अवसर पारेर रोल्पा नगरपालिकासहित, माडी, सुनछहरी, थबाङ, सुनिलस्मृति र लुङ्ग्री गाउँपालिकाले विदा घोषणा गरेका छन् । 

परिवर्तन गाउँपालिकाले भने ऐतिहासिक दिनकोरुपमा आ–आफ्नै कार्यालयमा मनाउने गरी अपिल गरेको छ । सार्वजनिक विदा आह्वान गरेका स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय पर्वकोरुपमा रहेको ‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा दिन पाउने कार्यपालिकाको अधिकारलाई न्यायपालिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

यता सुनछहरी गाउँपालिकाले फागुन १ र २ गते विदा दिएको छ । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक विदा घोषणा गरेको छ । गाउँसभामा पारित भएअनुसार हरेकवर्षको दुईदिन सार्वजनिक विदा दिइँदै आएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताए । नेकपा (माओवादी केन्द्र) बाहेक कांग्रेसले जितेको रुन्टीगढी र गंगादेव तथा एमालेले जितेको त्रिवेणी गाउँपालिकामा भने सार्वजनिक विदा दिइएको छैन ।

२९ माघ २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको