हामीलाई हाम्रा अग्रजले के सिकाए ?


पुरुषोत्तम लम्साल
हामीलाई हाम्रा अग्रजले के सिकाए ?
भारत दाहिना भए नेपालमा सत्तासुख प्राप्त हुन्छ ।
राजनीतिको कखरा सिक्दै गरेकाले के सिके ?
सत्तासुख प्राप्त गर्न भारत दाहिना हुनपर्ने रहेछ ।

पढाइयो के भने यो किन भयो त्यो किन भयो सबै भारतका कारण भयो। यो मनोवैज्ञानिक हस्तक्षेपबाट हामी आदिकालदेखि मुक्त छैनो र यो अनन्तकालसम्म रहने गरी जरा गाडेर बसेको छ ।

हामी ‘हामी’लाई केन्द्रमा राखेर होइन भारतलाई केन्द्रमा राखेर सोच्छौं, ब्याख्या विश्लेषण गर्छौं र ततअनुसार धारणा बनाउँछौं। यो मनोवैज्ञानिक हस्तक्षेप नै सबैभन्दा विषाक्त र घातक छ ।

नयाँ पुस्ताले दिल्लीलाई दिलमा राखेर सोच्न, चिन्तन गर्न छाड्ने अभ्यास शुरु हुने हो भने ‘हामी’ बाट सोच्ने सामथ्र्य विकास हुने हो। भारतको भुत देखाएर हामीलाई जुन शिक्षा दिइयो त्यो भुतलाई हामीले अहिलेसम्म प्रतिकार गर्नै सकेका छैनौं। मनोविज्ञानमाथिको यो हस्तक्षेपले हाम्रो आत्मविश्वाशको क्षय गरिरहेको छ। र, यो क्षयीकरण नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।

हामीलाई निर्बल के ले बनायो ?

भारले चाहे हुन्छ भन्ने आशा र आशक्तिले। त्यसैले चिया, चोक र चौतारोमा पनि हामी बिक्दैनौं, भारत बिक्छ र विकिरहेको छ। यो मनोवैज्ञानिक पर्खाल खुल्ला सीमाबाट आएको होइन, हामीलाई हामीभन्दा अग्रज पुस्ताले थोपरिदिएको हो। र, यसको भारले हामी थिचिइरहेका छौं ।

हामीले भूगोलमा साम्राज्यवाद अध्ययन गर्यौं र केलायौं। हामीले धार्मिक साम्राज्यवादका दृष्टान्त केलायौं। हामीले साँस्कृतिक साम्राज्यवाद र विस्तारवादका ठेली बनायौं र घोक्यौं। आधुनिक भनेर उत्पादन, बजार र प्रविधिको प्रभुत्ववाद पनि केलायौं। तर हाम्रो मनोविज्ञानलाइ भारतीय सलहले कसरी ध्वस्त बनाइरहेको छ भनेर केलाएनौं। मनोविज्ञानको यही सलहले हाम्रो राजनीतिक चिन्तनको खेतलाई बाँझो बनाउन भूमिका खेलेको हामीले हेक्का राखेनौं ।

हामी राष्ट्रवाद र अराष्ट्रवाद पनि भारतलाई केन्द्रमा राखेर तय गर्छौं। समयक्रममा के भइदियो भने हिजो भारत विरोधी र भारत समर्थित राष्ट्रवाद भनेर सीमा कोरियो। सत्ताको तख्तापलट हुनासाथ हिजो अराष्ट्रवादी करार गरिएकाहरु राष्ट्रवादीमा दरिए र जसलाई राष्ट्रवादी भनिन्थ्षे ती अराष्ट्रवादी भए। हामीले राष्ट्रवादलाई देशभक्तिको जामा पहिर्याइदियौं ।

राजनीतिक मनोविज्ञान प्रभावित पार्ने यो जामा लगाउने र फुकाल्ने प्रतिष्पर्धा हिजो जस्तै अद्यावधि छ। आफूलाई नेपाली राजनीतिको भीष्मवितामह दावी गर्नेहरु नै राष्ट्रवादको चिरहरण भइरहँदा पटकपटक लाचार र निरीह बनेका अनेक दृष्टान्त छन्। हाम्रो राजनीतिका तिनै दुशासनहरुले हाम्रो मनोविज्ञानमाथि अतिक्रमण गरेका छन् । यो अतिक्रमण हाम्रो स्व-चिन्तनको गजबार जस्तै छ । अबको पुस्ताले यो गजबार नाँघ्न जरुरी हुन्छ । ब्यक्तिको रुपमा, दलको रुपमा कसैलाई हिलो नछ्यापी पनि हामी यो मनोविज्ञानबाट बाहिर निस्कने यत्न गर्न, देखाउन जरुरी छ ।

हामीभित्र भारतको भय रोपिइएको छ। यो भयले हाम्रो मानसिक सम्प्रभुता नै खल्बल्याइदिएको छ। हाम्रो मानसिक सर्वोच्चता नै भारतलाई सुम्पिएर हामी मनोवैज्ञानिक रुपमा पराधीन भइरहेका छौं। र, पराधीन मनोविज्ञानबाट स्वाधीन विचार निर्माणको अपेक्षा गलत हुन्छ भन्ने भुलेका छौं। जसरी हाम्रा नदी बगेर भारतको भूगोलमा मिसिन्छ हाम्रा विचारहरु त्यस्तै तरल छन्। यो तरलता हाम्रो मनोविज्ञानको तरलता हो। र, यो तरलताबाट हामीले नयाँ पुस्तालाई मुक्त गर्न ठोस अभियान चलाउन जरुरी छ ।

२९ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको