लक्ष्य र गन्तव्य टुंगो लगाउन नसकेको एक यात्री


ऊ अझै अन्योलमै छ मनमा नानाथरी सोच राख्छ, मन बारम्बार दुख दिदैछ, मनलाई स्थिर र सन्तुल बनाउन सक्दैन, त्यसैले त उसको न कुनै लक्ष्य न कुनै गन्तव्यको टुंगो लागेको छ।

” कहिले बिदेश जाउ कि भन्छ ?
“कहिले पढाइ लाई निरन्तरता दिएर नेपालमै केही गरुँ कि भन्छ ?”
” कहिले पढाई सढाइ छोडेर केही ब्यापार ब्यवसाय पो गरुँ कि भन्छ ?”
“कहिले कसैले नदेख्ने ,कोहि न आउने ठाउँमा गएर अर्कै परिचय बनाएर पो बसुँ कि भन्छ ?”

यी यस्ता कुराहरु मनमा खेलाएर बसेको छ, जब जिम्मेवारीहरु बढ्दै जान्छन एक्कासी पढाई गर्दै गरेको ऊ सोचमग्न हुन्छ जब जिम्मेवारी बोध हुँदै गर्छ नि तब, हाँस्दै गरेको उसलाई भित्रबाट खुशी हुन रोकिदिन्छ यी अनि यस्तै सवालहरुले ।

अझै पनि बच्चा जस्तै गरी जिस्किन मन गर्छ, पहिले जस्तै गरी हिँडडुल गर्न मन गर्छ, साथी भाइहरुसँग भेला हुँदै रमाउन मन गर्छ । उसलाई थाहा छ आज चाहेर पनि ऊ यस्तो अवस्थामा छैन, परिस्थिति दिनप्रतिदिन जटिल अनि चुनौतीपूर्ण बन्दैछन । एक्कासी जिन्दगी त बल्ल पो सुरु हुँदै रहेछ भन्ने बोध गराइदिन्छ । बुझेर पनि नबुझेको जस्तो गर्छ । आउने दिनहरुमा कति संघर्षका बाटाहरु पार गर्नु छ उसलाई सबै थाहा छ तर पनि ऊ अझै आफ्नो मनलाई स्थिर बनाउन सकेको छैन । कुनैपनि काममा सोचेको जस्तो मेहनत गरेको छैन । अझै अगाडि सोच्छ कोहि साथीभाईले घरबार बसाएर एक किसिमले आफ्नो परीवार बसाएरको, कोहि बिदेश भुमिलाई कर्म थलो बनाएर कमाई रहेको, कोही आफ्नै ब्यापार ब्यवसाय सुरु गरिरहेको, कोही सरकारी सेवामा प्रवेश गरीरहेको, कोही प्रवेश गरेर पनि आफ्नो छुट्टै अस्तित्व बनाई रमाई रहेको देख्छ । कोहि ऊ जस्तै अझै के गर्ने के नगर्ने भन्ने अन्योलमा रहेको देख्छ ।

धेरै कुराहरु भएर पनि केही बोल्न सक्दैन त्यसैले भोतारीदै भएपनि केही गर्ने इच्छा राखी आशा बोकी संघर्ष त गरीरहेको जस्तो देखिन्छ । तर अहिलेसम्म सोचेको जस्तो केही नगरेको देखिन्छ र अब के गर्ने हो भनेर मनलाई स्थिर बनाएको छैन । कहिले विभिन्न ठाउँमा खुलेका ईन्स्टिच्युहरु धाउदै हिडेको छ । चोक-चोकमा खुलेका कन्सलटेन्सी, भिता-भितामा टाँसिएका अनेकन होडिङ बोर्ड, कोचिङ ईन्स्टिच्युटहरुले बाटो-बाटोमा चिच्याईरहेको देख्दा उसलाई लोकसेवा पढ्न मन त लाग्छ । तर फेरि पढ्दा-पढ्दा थाकेका पात्रहरुलाई सम्झन्छ । आफ्नो पनि हालत त्यहि हुने हो कि जस्तो सोच्छ । अनि फेरि मन मारेर बस्छ, त्यसपछि बिदेश जानुपर्छ भन्छ, बिदेशमा पनि कहाँ सजिलो हुन्छ र ? न सीप न कुनै भाषाको ज्ञान् छ । बिदेशीनु भएका दाजुभाइहरुले बिदेशमा भोग्नुपरेको दुखलाई सम्झ्न्छ । त्यसैले ऊ अझै अन्योलमा छ, केही भन्नै सकिरहेको छैन । मनले अनेक भनिरहेको छ तर उसले गर्न केही सकिरहेको छैन । न त उसले कसैलाई केही सुनाउन नै सकिरहेको हुन्छ । दिन त जसो तसो बिताउँछ उसले, तर रात भएपछि सताउँछ उसलाई यही जिन्दगीका अनेक कुराहरुले ।

सबैसँग भएर पनि एक्लै भइरहेको जस्तो महशुस गरिरहेको छ । ऊ कहिलेकाही त बोझ लाग्छ उसलाई जिन्दगी पनि कति परिवारकै भरमा बाँच्नु , कति माग्नु बा,आमालाई खर्च , कति माग्नु आफन्तलाई कोठा भाडा बुझाउने पैसा, तर भलै उसलाई परिवारले त्यस्तो बोझका रुपमा कहिल्यै लिएका हुँदैनन । तर सोच त आउँछ मनमा यही कुराले उसलाई महशुस हुदै जान्छ । जिम्मेवारी अनि चुनौती थपिएको यहि समय रहेछ । जहाँ आँखाअघि अनेकौं बाटोहरु देखिएका हुन्छन तर रोज्न एकदम गाह्रो हुने रहेछ् । त्यसैले दृढ भएर एउटा बाटो रोजेर अगाडि बढ्छु र केही गरेरै छाड्छु भन्ने संकल्पका साथ अघि बढ्न सक्यो भने आजको संघर्षले पक्कै भोली मिठो फल दिनेछ । नत्र यहि पात्र जस्तै सोचेर बस्नुपर्ने छ । त्यसैले एउटा लक्ष्य बनाएर सोही लक्ष्य बमोजिमको बाटो रोज्न सकेमा जीवनमा सफलता मिल्न सक्छ त्यसैले भनिन्छ समय र परिस्थितिअनुसार चुनौतीहरुको सामना गर्दै आफुलाई परिवर्तन गरेर अगाडि बढेपछि आफ्नो छुट्टै अस्तित्व बनाउन सकिन्छ । इच्छा मात्रै गरेर हुँदैन इच्छा पूरा गर्नको लागि धेरै प्रतिस्पर्धाको सामना गर्दै सफलताको लागि अधिक मेहनत गर्नुपर्ने हुन्छ । समयको गतिसंगै नचल्ने यथास्थितिमा चल्नेहरु सधै पछाडी पर्छन् र सभ्यताबाटै लोप भएर जान्छन् । समयको महत्त्व बुझ्ने र समयको गतिसगै चल्नेहरुले समाज र राष्ट्रमा आफ्नो छुट्टै पहिचान बनाउने छन बाकी यही पात्र जसरी सधै अन्योलतामै हराईरन्छ्न ।

मनलाई अहिलेसम्म पनि सन्तुलन राख्न नसक्ने, दिनप्रतिदिन नानाथरी सोच राख्ने, न लक्ष्य न गन्तव्यको टुंगो लगाउन सक्ने यो पात्र भित्रको अन्योलतालाई समेटि लेख्ने प्रयास गरेको लेख हो अन्यथा नसोच्नु होला । तपाईंहरुमध्ये कोहि-कसैले यस्तो कमजोरी गर्दै हुनुहुन्छ भने आजैबाट सुधार गर्नुस् । एउटा गन्तव्य सहितको लक्ष्यको निर्माण गर्नुहोस् । लक्ष्य अनुसार आवश्यक मिहिनेत र लगनशील बन्नुहोस । सफलता एकदिन अवश्य हजुरहरुको हातमा पर्नेछ । धन्यवाद !!

१९ भाद्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको