कवि नगरकोटीको कवितासंग्रह ‘सन्नाटाको लय’ बजारमा


भदौ ८, काठमाडौं । कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ।

कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले संग्रहको संयुक्त लोकार्पण गरेका हुन्। नगरकोटीका कविताबारे बोल्दै कवि प्रतीकले भने, ‘सिंगो आख्यानले भन्ने कुरा कविताको ६ लाइनले भन्न सक्छ। नरेन्द्रका कविताले यो क्षमता राखेका छन्।’

संग्रहभित्रका अधिकांश कविताले आम मान्छेको आवाज बोलेको उनले टिप्पणी गरे। समाजका असमानताको विरुद्ध शालीन ढंगले कविताले आवाज उठाएको कवि प्रतीकको भनाइ थियो।

आख्यानकार विजय सापकोटाले नगरकोटीसँग करिब २ दशक अघिदेखिको सम्बन्ध र सहयात्राबारे स्मरण गरे । ‘उनी मेरा नजिकका साथी हुन्। उनले कविता लेख्न सुरुवात गर्दाको समयदेखि उनको कविताको म साक्षी छु।’ नरेन्द्रका कविताले आफूलाई सधैं प्रभावित गरिरहेको उनले बताए।

समालोचक ज्ञानु अधिकारीले संग्रहका २८ वटा कविताले कविताको प्यासलाई मेटाएको बताइन्। ‘कविताले मेरो मन हल्लायो, पाठकहरूको पनि हल्लाउँछ। आजको समय र चेतना संग्रहभित्रको कवितामा मैले पाएँ,’ उनले भनिन्। नरेन्द्रका कविताले हरफै पिच्छे तरंग पैदा गर्ने क्षमता राखेको अधिकारीको टिप्पणी थियो।

कवि नगरकोटीले भने पहिलो कामको अनुभूति सधैं विशेष र फरक हुने बताए । आफूलाई कविताकर्ममा साथ र प्रेरणा प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै कविले भने, ‘मेरो कवितासँग म भन्दा नजिक हुने व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरू सबैलाई नमन गर्न चाहन्छु।’ कार्यक्रममा कवि नगरकोटीले शीर्ष कविता‘सन्नाटाको लय,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ सुनाए ।

संग्रहलाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य रु १ सय ९९ रहेको छ।

८ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको