विप्लवका केन्द्रीय सदस्य बोहरा पक्राउ


साउन २२, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’का केन्द्रीय सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो । त्रिवेणी गाउँपालिका २ का बोहरालाई मंगलबार राति १० बजे त्रिवेणी गाउँपालिका ६ मुरुबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लवका नेता, कार्यकर्ताहरुलाई पक्राउ गरिरहेपनि केन्द्रीय सदस्य नै पक्राउ परेको भने पहिलो पटक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य बोहरासँगै विप्लवका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति सह–संयोजक प्रेम प्रशान्त बोहरा र अनेरास्वबियू क्रान्तिकारी रुकुम पूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक हरि पुन रहेको डिएसपी खड्काले बताए ।

केही दिनदेखि रोल्पा, सल्यान र रुकुम पश्चिमको सिमा नाका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँहरुमा समुहले चन्दा तथा फिरौती माग गरिरहेको र सुरक्षा चुनौती बढ्दै गएपछि उनीहरु माथि निगरानी बढाएको प्रहरीले जनाएको छ । त्यसै क्रममा मुरुमा विप्लव समुहका नेता तथा कार्यकर्ता जम्मा भएर शंकास्पद गतिविधि संचालन गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी खड्काले बताए ।

२२ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको