नेपाल बन्द सकिएसँगै ६ दलले निकाले यस्तो विज्ञप्ति

सांकेतिक फाइल तस्बिर

फागुन ४, काठमाडौँ । नेकपासहित पाँच दल र एक मोर्चाले एमसीसीका विरुद्ध अह्वान गरिएको नेपाल बन्द ऐतिहासिक, भव्य र सानदार रूपले सफल भएको निष्कर्ष निकाल्दै बन्दमा सघाउने सबै पार्टीका नेता–कार्यकर्ता र जनतालाई धन्यवाद दिएका छन् ।

पाँच दल र एक मोर्चाले बुधबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहँुदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्रको रक्षार्थ ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले एमसीसी कम्प्याक्टलाई संसद्मा पेस गरी पारित गराउने देउवा सरकारको धृष्टताका विरुद्ध आयोजना गरेको जनसङ्घर्षको नेपाल बन्द कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सम्पन्न भयो । घोषित नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न सङ्घर्षमा लागिपर्ने पार्टीका नेता–कार्यकर्ताहरू, आफ्नै तरिकाले सङ्घर्ष गर्ने सङ्घ–सङ्गठन एवम् व्यक्तित्वहरू, संसद् भवन र सरकारी गठबन्धनभित्रबाट सङ्घर्ष गर्ने नेता एवम् सांसदहरू र महान् नेपाली जनतामा हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्दका क्रममा राज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकी सुशील, मेघबहादुर खत्री, जनक विक, कपिल सिँजापति, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दीपक शाही, वसन्त बोगटी, कृष्णभक्त महर्जन, फुर्नाम्गेल मोक्तान, शारदा महतलगायतलाई गिरफ्तार गरिएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकल लिम्बु, राजकुमार हिङमाङ, बुद्धलक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रूपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्रीलाई गिरफ्तार गरेको छ । त्यस्तै उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरूको गिरफ्तारी भएको छ । उहाँहरूलाई तुरुन्त रिहा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्दका क्रममा घाइते हुनुभएका क. लोकेश जोशी, क. फूलमती सापकोटा, भूपाल विक, सुदीप शाही, निगम भण्डारी, चिरायु भेटवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामीलगायत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै हामी सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

४ फाल्गुन २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको