जुन उद्देश्यका साथ संसद विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भयो: शंकर पोखरेल

फाइल तस्बिर

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड-माधवहरू गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको आरोप लगाएका छन्।

बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड-माधव पक्षको जितको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिँडेको आरोप लगाएका हुन्।

उनले भने,‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ। एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाइ हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नेकुरा गर्नुहुन्छ। उहाँहरूले जितेको जितको परिणाम के हो त भन्दाखेरि कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ।’

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैरकम्युनिष्टहरूको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताकोबीचमा यसै विषयलाई लिएर जाने बताए।

उनले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गरे। प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरूद्धमा गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताए।

उनले भने, ‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि स्वभाविक रूपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरूरी छ। आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस्। त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वविरूद्धमा, आन्दोलनविरूद्धमा, एकताका विरूद्धमा जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं। जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं। त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं। संसद पुनर्स्थापना भएर केही बिग्रिएको छैन।’

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल सुरू हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए।

आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि उनको दाबी छ।

१२ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको