चैत ३१, काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम र उपचारमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गर्दै फेरि कोरोना संक्रमणको जोखिम बढेकाले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।
समितिका संयोजक एवं कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरिएको छ ।
‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ, भनिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गम्भीर बन्न भन्दै कांग्रेसले आठ बुँदे माग अघि सारेको छ ।
यस्ता छन्, कांग्रेसले अघि सारेका मागहरू:
(१) गम्भीर विरामीहरू बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।
(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।
(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।
(४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।
(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।
(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।
(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।
(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।
प्रतिक्रिया दिनुहोस