उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, यसपटक अलि खुकुलो


जेठ १९, काठमाडौं । उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।

तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । दिउँसो लेबर राखेर काम गर्न दिइने छ।

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्म लागू हुन्छ। त्यसपछि नयाँ नियम कार्यान्वयनमा आउने छ।

बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

१९ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको