विप्लव नेकपाका केन्द्रीय सदस्य नवीन र महिला संगठनकी महासचिव भृकुटी रिहा


चैत्र १२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नवीन विक ‘हितमान’ र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा आज रिहा भएका हुन् ।

सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट निवेदनमा आज भएके सुनुवाईपछि न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नेताद्धय हितमान र भृकुटीलाई रिहा गर्न आदेश दिएको हो । भृकुटीको हकमा सर्मिला उपाध्याय र नविनको हकमा एकता विश्वकर्माले विना कारण पटक पटक प्रहरीले गिरफ्तार गरि गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहाईको माग सहित चैत ९ गते रिट निवेदन दायर गरेका थिए ।

सोहि रिट निवेदनमाथि भएको सुनुवाईपछि अदालतले फरक विचार र आस्था राखेकै आधारमा प्रवृत्त भावना लिई विना कारण र आधार विक र उपाध्यायलाई पटक पटक थुनामा राखेको देखिएकाले सर्वोच्च अदालतको नियमावली २०७४ को नियम३७(क) र (ख)का आधारमा निवेदकको थुना गैरकानुनी देखिएको रिहा गर्न आदेश दिईएको छ ।
निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु चिरिन्जीवि ढकाल, सन्तोष भण्डारी, खिमानन्द अधिकारी र लक्ष्मी(नानी)थापाले बहस गरेका थिए ।

नेता विकलाई गत असोज ७ गते र नेतृ भृकुटीलाई साउन १४ गते काठमाण्डौंबाट पक्राउ गरिएको थियो । पक्राउ पछि नख्खुको एनसेल कार्यलयमा बिष्फोट लगायतको मुद्धामा नख्खु कारागारमा राखिएका उनीहरु माघ १६ गते केन्द्रीय सदस्य माईला लामासगँै उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए ।

त्यस पछि अदालत परिसरबाटै पक्राउ गरी पुनः सुनसरीको धरान लगेर उनीहरुलाई हतियार तथा संगठित अपराध मुद्धा चलाईएको थियो । सुनसरी जिल्ला अदालतले फागुन ४ गते साधारण तारेखमा रिहा गरेको थियो । तर अदालत परिसरबाटै उनीहरुलाई कालिकोट पुर्याईएर बम विस्फोट सम्बन्धी मुद्धा लगाएको थियो ।

कालिकोट जिल्ला अदालतले पनि फागुन १२ गते उक्त द्दटनामा संलग्नता नरहेको भन्दै साधारण तारेखमा रिहा गरेको थियो ।लगत्तै अदालत परिसरबाटै पक्राउ गरि दैलेख लगिएको थियो ।

दैलेख प्रहरी हिरासतमा रहेकै बेला बन्दीप्रत्यक्षीकरणको मुद्धा सर्वोच्च अदालतमा दायर भएको थियो । सर्वोच्चले चैत ३ गते रिहा गर्न आदेश दिएपनि गेटबाटै पुन पक्राउ गरी भत्तपुर पुर्याईएको थियो । आज पुनः सर्वोच्च अदालतको आदेशमा नै उनीहरु रिहा भएका हुन् ।

१२ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको