विप्लव नेकपा नेतृ भुजेल र पौडेल रिहा गरेलगत्तै पुनः पक्राउ


माघ १०, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी व्युरो सदस्य उमा भुजेल शिलु र कार्यलय सचिव सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार उनीहरुलाई जिल्ला अदालत सुनसरीले आज १० हजार धरौटीमा रिहा गरेको हो ।
इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको सुनसरी जिल्ला अदालतका प्रवक्ता गोपाल प्रसाद गिरीले जानकारी दिए ।

अदालतले रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो । धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

दुबैजनालाई झापा लैजाने तयारी गरिएको बुझिएको छ । उनीहरुको बिरुद्धमा झापामा अर्को मुद्धा रहेकाले त्यतै पठाउने तयारी भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोट सम्बन्धी मुद्धा चलाएको थियो ।

तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य तथा पूर्वसांसद समेत रहेकी नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएकी थिईन् । भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो ।

१० माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको