दाहालको दैलोमा ओली


पुस ५, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले दाहाललाई बाहिर करिब दुई घण्टा कुराए । त्यसअघि पनि ओलीलाई भेट्न जाँदा बारम्बार कुर्नुपरेका दाहालले आफ्नो सचिवालयका सदस्यहरूसँग भनेका थिए, ‘केपीजीले सारै अपमान गर्नुभयो । तीन–चार चोटि नै भयो, घण्टौं बाहिर कुराउनुहुन्छ ।’ ओली प्रधानमन्त्री बनेयता उनलाई भेट्न दाहाल तीन सय चोटिभन्दा धेरै बालुवाटार पुगेका छन् । शनिबार भने दृश्य बदलियो, ओली स्वयं दाहाल निवास खुमलटार पुगे ।

प्रधानमन्त्री भएयता ओली दाहाल निवास खुमलटार गएको यो दोस्रो पटक हो । यसअघि २०७५ मंसिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए । शनिबार भने पार्टीभित्र संकटमा परेपछि त्यसलाई पार लगाउने उपायको खोजीमा उनी पुगेका हुन् । करिब एक घण्टा बस्दा अध्यक्षद्वय ओली र दाहालबीच पुरानै विषयमा रस्साकसी भयो । दुवै अध्यक्षहरूले आफूनिकट नेताहरूलाई दिएको जानकारीअनुसार शनिबारको संवाद झन् तिक्त बन्यो । भेटमा ओलीले दाहाललाई आफूमाथि लगाइएको ‘लाञ्छनायुक्त’ पत्र फिर्ता लिन फेरि पनि आग्रह गरेका थिए । दाहालले दुवै प्रस्ताव कमिटीमा छलफलका क्रममा रहेकाले त्यहीं टुंगो लगाउने बताएका थिए ।

‘त्यसो भए म बैठकमा आउँदिनँ,’ ओलीले दाहाललाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्नै मृत्युपत्रमाथिको छलफलमा म आउन मिल्दैन ।’
दाहाल र ओलीबीच प्रस्ताव फिर्ता लिने/नलिने विषयमा विवाद चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम बैठक कक्षमा छिरेका थिए । गौतमलाई दाहालले बिहान साढे ११ बजेको समय दिएको भए पनि उनी केही छिटो खुमलटार पुगेका हुन् । गौतम छिर्नेबित्तिकै छलफल उनकै विषयमा केन्द्रित भएको निकट नेताहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत ५ गतेको स्थायी कमिटी बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दोहोर्‍याएका थिए । त्यसअघि पोहोरको कात्तिक, माघ र गत वैशाखमा पनि शक्ति सन्तुलन बिग्रिएर आफू अल्पमतमा परेका बेला ओलीले गौतमलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर गत साउनको एउटा भेटमा गौतमले आफू प्रधानमन्त्री बन्ने कुरा कहाँ पुग्यो भनेर ओलीलाई सोधेका बेला ‘प्रधानमन्त्री बन्न अंग्रेजी जानेको हुनुपर्छ तपाईंलाई अंग्रेजी आउँदैन’ भनेर जवाफ दिएका थिए । त्यसपछि गौतम ओलीसँग बिच्किए । यही कुरा शनिबार गौतम, दाहाल र ओलीबीच भएको संवादमा दोहोरिएको हो । बैठक कक्षमा गौतम छिरेपछि दाहालले ‘वामदेवजीलाई प्रधानमन्त्री बनाउने तपार्इंको प्रस्ताव के हो ?’ भनेर सोधेका थिए । त्यसपछि ओलीले ‘गौतमजीलाई प्रधानमन्त्री बनाऔं’ भनेर प्रस्ताव गरे । जवाफमा दाहालले ‘त्यसो हो भने तपाईंले नै राजीनामा दिनुस् न त’ भनेका थिए । ‘अनि प्रधानमन्त्रीज्यूले अहिले कहाँ राजीनामा दिन्छु त, चुनावपछि प्रधानमन्त्री बनाऔं पो भनेको हो भन्नुभन्यो,’ स्रोतले भन्यो ।

ओली, दाहाल र गौतमबीच कुराकानी चल्दाचल्दै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगे । उनलाई अध्यक्ष दाहालले १२ बजे बोलाएका थिए । नेपाल पुगेपछि ओली निस्किएर सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई भेट्न उनकै निवास पुल्चोक पुगे । उक्त भेटमा ओलीले थापालाई अब संकटको बेला आइसकेकाले आफूलाई थप साथ दिन आग्रह गरेका थिए । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली दुवैले थापालाई विश्वासमा लिन खोजिरहेका छन् । तर थापानिकट स्रोतहरूका अनुसार उनी पार्टी नफुट्ने र सरकार रहिरहने अवस्थामा मात्रै ओलीको साथमा हुन सक्छन् ।

अध्यक्षद्वयका छुट्टाछुट्टै प्रस्तावमाथि नै छलफल चलाउने एजेन्डासहित आइतबार स्थायी कमिटी बैठक बस्ने भएपछि हतासिएका ओलीले पछिल्लो माहोल बुझ्न घरदैलो गरेको विश्लेषण नेकपा वृत्तमा छ । यसअघि पनि आफू अप्ठ्यारोमा पर्दा ओलीले यस्तै रणनीति अपनाउँदै आएका थिए । गत साउन १३ गते नेकपाको विवाद उच्च विन्दुमा पुगेर दाहालनिकट नेताहरूले मात्रै स्थायी कमिटी बैठकमा सहभागी भएका बेला ओली गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए । त्यतिखेर भेटघाटको चाँजो मिलाएका महासचिव विष्णु पौडेलले खिचेर पठाएपछि ओली सचिवालयका सदस्यहरूले ओली–गौतम भेटघाटको फोटो सार्वजनिक गरेका थिए । ‘ओलीजीको यो पुरानै रणनीति हो, यसलाई हामीले दुई हिसाबले बुझेका छौं,’ दाहाल–नेपालनिकट सचिवालयका एक सदस्यले भने, ‘पहिलो त उहाँ मैले अन्तिमसम्म प्रयास गरें भनेर देखाउन आउनुभएको हो, दोस्रो हाम्रो मुड बुझेर रणनीति अख्तियार गर्न आउनुभएको हो । यतातिर नाडी छामेलगत्तै राष्ट्रपतिज्यूलाई भेट्न शीतलनिवास जानुभयो नि ।’

दाहाल र थापा निवासको भेटघाटपछि बालुवाटार पुगेका ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । गत १ गतेको स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि प्रधानमन्त्री ओलीले फिर्ता गर्ने तयारी गरेका छैनन् । उनले पार्टीभित्र सहमतिको वातावरण नबने आफू अध्यादेश फिर्ता लिन बाध्य नहुने जवाफ दाहाललाई दिएको बैठक स्रोतको भनाइ छ । त्यसो हुँदा आइतबार बस्ने स्थायी कमिटी बैठकमा पनि अध्यादेशकै विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छिन् ।

५ पुष २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको