दाङका प्रहरी प्रमुखविरूद्ध अदालतको अवहेलना मुद्दा


पुस १८, दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा बिहीबार अदातलको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।

अदालतको आदेशअनुसार धरौटी बुझाउदै गर्दा विप्लव नेकपाका चार जना नेतालाई अदालत परिसरभित्रै लछारपछार पार्दै पक्राउ गरेपछि उनीहरूका परिवारले प्रहरी प्रमुखविरूद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी शिबा बोहरा, घोराही १७ निवासी छिमा पुन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी सीता ओली र लमही नगरपालिका वडा नं. ३ निवासी उमिरलाल चौधरीले प्रहरी प्रमुख भट्टराईविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

मुद्दा हाल्नेहरू हाल प्रहरीको नियन्त्रणमा रहेका सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका नेताहरू धनबहादुर बोहरा, तिलक पुन, कुलबहादुर ओली र एकराज चौधरीका परिवार हुन् ।

दाङ-देउखुरी जिल्ला अदालतले गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट पक्राउ परेका नेकपाका मध्यपश्चिम कमाण्ड ईन्चार्ज सहित २१ जनालाई १५-१५ धरौटीमा रिहा गर्न अादेश दिएको थियो । तर सबैले धरौटी नतिरेर पुस ७ गते कारागार गएका थिए । २१ मध्य ४ जनाले धरौटी बुझाउँदै गर्दा प्रहरीले मुद्दा दर्ता कक्षमै पक्राउ परेका नेता र परिवारका सदस्यहरूलाई लछारपछार पार्दै पुनः पक्राउ गरेको थियो ।

अदालतको आदेशपछि प्रहरीले उनीहरूलाई पुनः बलजफ्ती नियन्त्रणमा लिने क्रममा आफूहरूमाथि हातपात भएको तथा आफूहरूमाथि अमानवीय व्यवहार भएको छिमा पुन लगायतले गुनासो गरेका थिए ।

अदालतको अवहेलना गर्ने प्रहरीविरूद्ध एक वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना माग गर्दै निवेदकहरूले निवेदन दर्ता गराएको अधिवक्ता निर्मल गौतमले जानकारी दिए ।

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको