लमजुङमा बाढीले तीनजनाको मृत्यु, दर्जन बढी बेपत्ता


साउन ८, काठमाडौँ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ ।

बाढीले बगाउँदा तीनजनाको मृत्यु भएको छ । दर्जनौँ वेपत्ता छन् । दोर्दी गाउँपालिकाका ४ शेरापुलनजिकै दुईजना र वडा नम्बर ६ को कीर्तिपुरबेसीमा एकजनाको शव फेला परेको छ ।

उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । बाढीले अन्य धेरै जनधनको क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

स्थानीय धर्मराज गुरुङका अनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन । मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीयले बताएका छन् ।

वडा नम्बर ६ ढोडेनी रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायत सामाग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए । बाढी पसेपछि टनेलमा पसेका १७ मजदुरको भने सकुसल उद्धार गरिएको उनले बताए ।

बाढीमा परी लिवर्टी इनर्जी पावर कम्पनीद्वारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत दर्जन बढी कामदार बेपत्ता छन् । साथै जलविद्युत आयोजनमा समेत ठूलो क्षति पुगेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

८ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको