शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित गर्नुहोस्, जुनसुकै बेला वार्ता हुन्छ: सञ्चारमन्त्री


साउन २, काठमाडौं । सरकारले वार्ताअघि पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्नुपर्ने विप्लव नेकपाले राखेको शर्त स्वीकार गर्न नसकिने प्रस्ट पारेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाड्न नसकिने बताए।

मन्त्री बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्रै सरकारले विप्लव नेकपासँग वार्ता गर्ने बताए । सरकार वार्ताका लागि सधैं तयार रहेको बताउँदै उनले भने, वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच र शक्ति सञ्चयका लागि वार्ता हुँदैन ।’

तत्कालिन माओवादी र सरकारबीचको वार्ता शक्ति सञ्चयका लागि भएको भन्दै उनले अहिले विप्लव नेकपाले पनि सोही क्रम दोहो¥याउन खोजेको बताए । ‘५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने, उनले भने, ‘फेरि त्यसकै दुष्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पक्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव नेकपालाई सीके राउत झैँ शान्तिपूर्ण मूलधारमा आउन आग्रह समेत गरे । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित गर्नुहोस् जुनसुकै बेला वार्ता हुन्छ’, मन्त्री बाँस्कोटाले भने ।

उनले हिंसा छाडेर वार्तामा आए विप्लव नेकपाले गरेका पहिलेका गल्ती पनि माफ गर्न सकिने बताए । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नख्खु जेलमा रहेको विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेको पुष्टि गर्दै उनले अन्य विभिन्न तहबाट पनि वार्ताका लागि पहल भइरहेको जानकारी दिए ।

२ श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको