मेयर चौधरी सयचोटि ‘कान समातेर उठबस’ गर्न तयार


जेठ २८, इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका छन । अनुगमनका लागि इटहरी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली सक्षम मेयर चौधरीले यस्तो बताएका हुन् ।

चौधरीसँग भएको छलफल उधृत गर्दै मिसनको प्रतिवेदनको सारांशमा भनिएको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’

महासंघको मिसनले मेयर चौधरीको कमजोरी औंल्याएको छ । साथै पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ ।

इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ ।

इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ ।

मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’

मिसनको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’

विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।

२८ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको