अक्षयकोष घोषणासभाको तयारी तीव्र, झापाली समाजले सबै दाताहरुलाई सम्मान गर्ने !


असोज २३, युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएई असहाय बालबालिकाहरुको लागि अक्षयकोस स्थापना गरेको छ । विगत चार वर्षदेखिको यो अभियानले सार्थकता पाएका कारण आगामी असोज २८ गते कनकाई बहुमुखी क्याम्पस, सुरुङगामा झापाली समाज युएईले अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रम आयोजक समिति सदस्य तथा प्रचारप्रसार संयोजक प्रदिपकुमार संग्रौलाले बताएका छन् ।

संग्रौलाका अनुसार यो अभियानमा सहयोग गर्ने करिब १३० जति दाता र दाताका प्रतिनिधिहरुलाई सम्मान गरिनेछ । कार्यक्रमको लागि पत्राचार, प्रचारप्रसार लगायत धेरै आन्तरिक कामहरु तीव्र रूपमा भइरहेको, कार्यक्रमको सफल व्यवस्थापनका लागि झापाली समाज युएई, नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको उनले बताएका छन् ।

विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको जानकारी गराउदै झापाको केन्द्रविन्दु पर्ने यस नगरपालिकाको मुख्य सहर सुरुङामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जिल्ला प्रसाशन कार्यालय झापामा सामाजिक संस्थाको रुपमा दर्ता रहेको यस सामाजिक संस्था विविध क्रियाकलापमा सहभागी भएर युएईमा रहेका झापालीहरुको आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ ।

यो समाजले झापामा रहेका गरिव, जेहेन्दार र असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर १० लाख नेपाली रुपैयाँको अक्षयकोस स्थापना गर्न लागेको हो । लक्ष्य १० लाख नेपाली रुपैयाँको अक्षयकोष भनिए पनि सोही दिन पनि दाताहरूले अक्षयकोसमा रकम हस्तान्तरण गर्ने भएका कारण अक्षयकोसमा संकलित सबै रकम सोही दिन घोषणा हुने अक्षयकोस संकलन समितिका सदस्य दुर्गेस सापकोटाले जानकारी दिएका छन् ।

उक्त घोषणासभा तथा दाता सम्मान कार्यक्रममा उपस्थित भइदिनका लागि झापाली समाज युएईले सबै दाताहरू, आजिवन सदस्यहरु तथा सुभेच्छुहरुलाई अनुरोध गरेको छ ।

२३ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको