आसेपासेले ग्रस्त निजामती सेवा !

'गासे' पुरस्कार


कमल राज ओली । भदौ २२ गते निजामती सेवा दिवस । एकदिन ढिलाई भएपनि सम्पूर्ण निजामती कर्मचारीहरुलाई हार्दिक शुभकामना साथै निजामती सेवा दिवसको दिन उत्कृष्ट पुरस्कर पाउन सफल सबै कर्मचारीहरुलाइ विशेष बधाई ।

आज ढिलोगरि प्रकाशित पुरस्कार पाउने कर्मचारीको लिस्ट हेर्ने अबसर प्राप्त भयो । प्रत्येकको नाम केलाएर हेरे, मलाई नामसंग सरोकार थिएन । केही लिनु दिनु पनि थिएन ।

त्यसपछि उहाँहरु कार्यरत कार्यालय हेरे । उहाँहरुको कार्यलयसंग पनि केही लिनु दिनु थिएन । तै पनि निजामती पुरस्कारले उल्झाएका निष्पक्ष बिषयमा भने मन्थन गरे, केहिबेर घोत्लिए ।

सबैभन्दा माथिको सुचिमा आए डोल्पा, रोल्पा, मनाङ, मुस्ताङ तिरका हुलाकी हल्कारा अनि कार्यालय सहयोगीहरु, ती फिल्ड कर्मचारी जो घाम-पानी, हिउँद-बर्खा नभनी आफ्नै तलबमा किनेका हात्तिछाप चप्पल पट्काउदै आफ्नो काममा कटिबद्ध छन । तिनीहरु नै सबैभन्दा माथीको सुचिमा आए अनि त्यो भन्दा तल त्यही पहाडी हिमाली तराई मधेसमा बस्ने खरिदार नायब सुब्बा र केही निरिह अधिकृत स्तरका कर्मचारीहरु, जो राज्यले खटाए काम गर्नै पर्‍यो भन्दै आफ्नो डिउटी मज्जाले पूरा गर्छन् ।

त्यो भन्दा तल बजार केन्द्रित कार्यालय स-साना सहर काठमाडौ आसपासका जिल्लामा बस्ने कर्मचारीहरु, जो काठमाडौं सम्मको पहुँच नभएर छेउछाउ बसेर चित्त बुझाउन र काठमाडौंसंग निकटतम दोस्ती भएको फुर्ती हाक्छन ।

त्यसपछि आर्यालयको काम भन्दा पनि ब्याक्तिगत भलाईको लागि काठमाडौंमा सामान्य भनिने कार्यलमा बस्ने, बिहान बेलुकी पढाइ लेखाइ गर्ने, केही हल्का सानोतिनो साइड ब्यापार गर्ने, आफ्नै गाउका मान्छेलाई फकाई-फकाई म्यानपावरसम्म पठाउने र तलब चोखो बचाउने, यताउता गरेको पैसाले काठमाडौंमा जीवन धान्नेहरुको लिस्ट भेटियो ।

सबैभन्दा तल्लो लिस्टमा छन सधै सिंहदरबार भित्र, वरिपरि नाम कहलिएका नेताका नाम लिएर तलब पचाउने आसे, पासे, गासे, कर्मचारीहरु जस्ले आफुलाई सबैभन्दा माथिको र अन्य साना कर्मचारीलाई जहिल्यै आफ्नो कारिन्दा सोच्ने, जुत्ता मोजा र काठमाडौंको धुलो छेक्न मुखमा लगाउने मास्क समेत सरकारी पैसामा किन्ने र जहिल्यै पार्टीको नेताको पुच्छर बनेर हिड्ने निजामती सेवा प्रवेशको सपथ समेत भुलेकाहरु, जो हरेक बर्ष तिनै बनाउछन निजामती सेवा दिवसको नारा र भन्छन् ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ ।

अब कुरा गरौ सर्वोउत्कृस्ट निजामती पुरस्कारको । जो आजसम्म एक पटक मात्रै एक जनालाई प्रदान गरिएको थियो ।

गाउँघरमा मागेर गास खानेलाई ‘गासे’ भन्ने चलन छ । कर्मठ हातहरु हुँदा हुँदै मागेर खाने गासेलाई गाउँघरमा उति राम्रो मानिदैन । तर देशमा गासेहरुको जमात निकै बढेको छ । अचेल त सम्मान र पुरस्कार पनि माग्ने चलन बसेको छ । त्यसैले ‘गासे’ पुरस्कार मौलाएको हो ।

सिहदरबार बस्नेहरु नै नाम सिफारिस गर्छन, अनि उनै अनुमोदन गर्छन र आफै थाप्छन पुरस्कार । अर्थात सिंहदरबारले दिने पुरस्कार दरबार भित्रै रहोस भन्ने चाहान्छन ।

केही वर्षदेखि सर्बोउत्कृस्ट निजामती पुरस्कार किन प्रदान गर्न सकिएको छैन ! सिंहदरबार बस्ने कर्मचारी, त्यो पनि उप सचिब भन्दा माथिकाले मात्रै त्यो पुरस्कार राख्नु पर्छ भन्ने धारणा दरबारमा हुर्केर बसेको छ । सिहदरबार भन्दा बाहिर जान नदिने बिरासत ज्युदै छ । सिंहदरबार भित्र त्यो पुरस्कार दिन लायक कोहि नभएकोले केही बर्षदेखि बरु त्यसै थन्किएको छ, दिन सकेका छैनन।

दरबार भित्रसुबिधा भोगेर बस्नेहरुले त्यो मधेसको गर्मी अनि हिमालको जाडो खाएर देशको सेवामा समर्पित राष्ट्रसेवकलाई प्रदान गर्न हिम्मत कहिलै गरेनन । त्यस्तो आंटने चेस्टा समेत गरेनन ।

नेपालमा परिवर्तनको नाम लेनदेन र सम्झौतामा टुङ्गियो । आफन्त नातागोतामा बिसाईयो । आफन्त आसेपासेहरुलाई नै निजामती सेवा दिवश बन्यो । तिनैले निजामती पुरस्कार पाए । प्रशासन शुधारका कुरागर्ने तर तिनैले आफ्नो वरिपरिकालाई मात्रै उत्कृष्ट देख्ने परिवर्तित भनिने नयाँ नेपालको दृष्टिकोण हो, जो दुरदर्शी र पारदर्शी बन्न सकेन ।

प्रश्न छ, बिकट मुगुको पाले दाई किन कहिलै उत्कृष्ट कर्मचारी भएन ? थबाङ हुँदै जलजला लेक काटेर लिबाङ डाँक बोक्ने हुलाकी दाई किन कहिलै उत्कृष्ट कर्मचारी भएन ? कालिकोटको कृषकको बारिमा गएर भोकै हिड्ने कृषि प्राबिधिक किन उत्कृष्ट कर्मचारी भएन ?

यसको एउटामात्र उत्तर हो, बिचरो उस्ले कोहि नेता चिनेको छैन । सिंहदरबार बस्ने ठुलै कर्मचारी चिनेको छैन । उस्ले केवल आफ्नो काम चिनेको छ । कामले उसले ठुलाबडा नेता चिन्ने फुर्सद पनि छैन ।

अब निजामती प्रशासनमा यस्तो आँधी आउनु पर्छ, आँधी नआए ल्याउनु पर्छ; जस्ले सबै फ़ोहोर र फोहोरीलाई उडाउन सकोस् कहिलै नफर्कने गरि, ताकी अछामको कार्यलय सहयोगिले उत्कृष्ट कर्मचारी हु भनेर तक्मा थाप्न सकोस् । आफै सिफारिस आफै मनोनयन र आफै पुरस्कृत हुँदै आत्मरति लिने कथित सिस्टमको अन्त्यहोस् ।

अन्तमा सिंहदरबार भन्दा बाहिर पनि कर्मचारी छन र उनीहरुलाई पनि नेपाल सरकारले नै पठाएको हो भन्ने ज्ञान महासय आसेपासे र गासेहरुलाई होस भन्दै सम्पूर्ण कर्तब्यनिष्ठ निजामती कर्मचारीहरुलाई निजामती सेवा दिवसको हार्दिक शुभकामना ।

२३ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको