तिम्रो सिहंदरबार कहाँ छ सरकार ?


स्थानीय सरकार गाउँमा आएपछि सरकार सम्हाल्ने नेताहरुले एकताका निकै धेरै भाषण गरे । गाउँ-गाउँमा सिंहदरबार आयो जनतालाई सुबिधा भयो। वास्तवमा संघीयताको मर्म ‘गाउँ–गाउँमा सिंहदरबार, दैला–दैलामा सरकारी सेवा भन्ने होइन र ? तर यस्तैलाई भन्छन् र गाउँ-गाउँमा सिंहदरबार जनताको लागि आएको भन्न लाज मानुपर्ने अवस्था छ ।

गाउँ–गाउँमा सिंहदरबार भनेको के हो ? देश संघीयतामा गएपछि हामीलाई फाईदा के ? ‘गाउँ–गाउँमा सिंहदरबार, दैला–दैलामा सरकारी सेवा भन्नुको अर्थ पहिले काठमाडौँमा मात्रै एकीकृत भई सिंहदरबाट दिईएको सेवा अहिले गाउँ–गाउँमा विभाजन गरियो भन्ने होइन र ? तर आज पनि सिंहदरबार आएको महसुस गर्नु सकिएको छैन । बरु गाउँगाउँमा सिंहहरु आए तर दरबार आएको छैन् । संघीयताको मर्म अनुसारको सिंहदरबार अझै हामीले महसुस गर्न पाएका छैनौ । आज पनि जनताको घरमा सिंहदरबार पुगेको छैन । सोझा, सिधा गरिब, दुखी जनताका घर-घरमा सिहंदरबार कहिले पुग्ने ? अहिलेका जनप्रतिनिधिका कार्यशैलि र अवस्थालाई गाउँ-गाउँमा सिहंदरबार भन मिल्दैन ।

दुर्गम ग्रामीण बस्तिका जनता आज पनि जिविको निर्वाह गर्नका लागि खाद्यान्न जुटाउन घण्टौँ पैदल हिड्नु पर्ने अवस्था छ । कतिपय खाद्यान्नको अभावमा भोक–भोकै बाचिरहेका छन् । जनताका छोराछोरीले सहज रुपमा पढ्न पाउने अवस्था छैन । जलस्रोतको दोस्रो धनी देश भनिएको नेपालमा प्रशस्तै विद्युत उत्पादन गर्न सक्ने क्षमता हुँदाहुदै अझैसम्म धेरै बस्तीका मान्छेहरु टुकी, सोलार ,बत्तिको भरमा अध्यारो कुनामा बसेका छन।

संचारको सहज पुहँच छैन । ग्रामीण क्षेत्रमा अझै पनि फोन गर्न घण्टौ हिडेर अग्ला अग्ला डाँडाकाँडा, रुख भिर ध्याउनु पर्ने अवस्था छ । त्यसमा पनि घाम लाग्यो भने मात्र फोन लाग्छ। कोही कसैलाई आपत विपद् परेमा वा जटिल बिरामी परेमा अस्पताल खोज्दै ठूला–ठूला शहर बजार तिर र ध्याउनु पर्ने अवस्था छ। उपचार नपाएर कतिपयले अकाल्मै ज्यान गुमाउने पर्ने अवस्था छ । गाउँमा सडक पुगेका छैन । खानेपानी जोहो गर्न घन्टौं हिंड्नुपर्ने बाध्यता छ।

आधारभूत विकास पनि नपुगेको गाउँबस्तीमा हामीले सिंहदरबारको अधिकार पुगेको भन्न मिल्छ त ? नेताहरुले सिंहदरबार पुग्यो भनेर ठूलाठूला भाषण गर्छन । तर आधाभूत विकास पनि नभएको गाउँमा सिंहदरबार पुग्यो भन्नु लाजमर्दो छ ।

मुलुकमा तीन तहको सरकार छ। तीन तहको सरकार भए पनि जनताले सुविधा पाउँन सकेका छैनन। तीनै तहको सरकार तहमा भ्रष्टाचार मौलाउदै गरेको छ । जनप्रतिनिधिको कार्यकाल विवादै विवादमा वित्दै छ। जनताले महसुस गर्ने खालको कुनै पनि विकासका कामहरु हुनै सकेको छैन । अधिकांश स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिको विवाद हुँदा जनताले समस्या भोग्नु परेको छ । जनप्रतिनिधि र कर्मचारीको विवादले गर्दा जनताले दुख पाएका छन् ।

गाउँमै सिंहदरबार आयो, जनतालाई सबै सुविधा हुन्छ । जनातका लागि काम गछौँ भनि चुनाबमा भाषण गर्नेहरु आज सत्तामा पुगेपछि महाराज बनेका छन । काम भने शुन्य जस्तै देखिन्छ । गाउँगाउँका सिंहदरवार यी नै महाराजलाई बस्नको लागि आएको जस्तो लाग्छ ।

लाखौं लाख युवाहरु विदेशी भूमिमा आफ्नो पसिनामा बगाउँदै छन् । दिनप्रतिदिन हजारौं हजार युवाहरुले देश छोड्दै छन्। नेपालमा रोजगारी सिर्जना हुने सम्भावना छैन । युवा पंक्तिलाई देशको नेतृत्व प्रति कुनै आशा छैन। उच्च शिक्षा हासिल गरेका धेरै विद्यार्थीहरु बेरोजगार छन् ।

उच्च शिक्षा हासिल गरेका विद्यार्थीले नेपालमा आफुले चाहेको जस्तो काम ५ हजार रुपैयाँमा गर्छु भन्दा नि पाउदैन । विदेश पलायनको डरलाग्दो तथ्याङ्क छ। हाल १९ महिनामै रोजगारी लागि विदेशीने नेपालीको सङ्ख्या १३ लाख पुगेको छ। स्वदेशमा अवसरको कमी भएकै कारण यस्तो स्थिति सिर्जना भएको हो।

विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या अझै दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । देशमा रोजगारी नपाएपछि अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा विदेशमै बस्नेहरुको संख्या बढ्दै छ । अहिलेका जनप्रनिधिको विश्वास गर्न सक्ने अवस्था छैन । जनप्रनिधिले गरेका गतिविधिबाट जनताहरु सन्तुष्ट छैन ।

देशको संरचना परिवर्तन भएको पनि धेरै भयो। जे फाईदा भयो अहिलेका जनप्रतिनिधि र तिनका नजिकका नातागोतालाइ भयो। एक पटक जसरी हुन्छ नेतृत्वमा पुग्ने जति सक्यो लुट्ने प्रबृतिको विकास भएको छ। जनताको लागि काम गर्ने भन्दा पनि कसरी नेतृत्वमा पुग्ने अनि कमाउने भन्ने तिर चासो देखिन्छ ।

आफ्नालाई बनाउने, कसैलाई रोजगार दिने, कसैलाई ठेक्का दिने जसरी हुन्छ बजेट सक्ने, विकास गर्ने तर्फ कसैको ध्याउन पुगेको छैन । केही रोजगार खुले पनि आफ्नै छोराछोरीहरुलाइ जागिर खुवाउने । देशलाई आफ्नै निजी कम्पनी जस्तो बनाएका छन । अनि भन्छन् ,गाउँमा सिंहदरबार आयो ।

देशमा क्षमतावान युवापंक्ति बस्ने वातावरण छैन । दक्षजनशक्तिलाई रोजगार छैन । गरिब दुखीहरु, शिक्षा, रोजगार पाउनबाट बन्चित छन् । यी सबै आधारभूत आवश्यकता पाउँनलाई पनि कुनै न कुनै दलमा आवद्ध हुनुपर्ने अवस्था छ ।

कहिले पाउँछन् गरिव ,दुखी जनाताले रोजगारी ? कहिले आउछन् हाम्रा जनप्रतिनिधिका सकारात्मक सोच कहिले हुन्छ चौतर्फिपुर्ण विकास ?

लेखक गंगादेव गाउँपालिका -६ रोल्पा  निवासी हुन् ।

 

३० मंसिर २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको