रवि लामिछानेको रुप सक्कली कि नक्कली ?


वैशाख १० गते सम्पन्न उपचुनावको मत परिणाम आए संगै विभिन्न कोणबाट वहस, टीका-टिप्पणी, व्याख्या र विश्लेषण भइरहेको छ। अन्य चुनाव भन्दा अलिबढी रोचक बन्नुको कारण रास्वपा र रवि-स्वर्णिम बने । किनकि रबि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र संसद पद एकैपटक गुमाएर फेरि पहिल्यैको निर्वाचन क्षेत्र चितवनबाट जीत निकाले भने स्वर्णिम वाग्ले १५ दिन पहिले कांग्रेसबाट विद्रोह गरेर, कांग्रेसकै ४८ सालदेखिको किल्ला भत्काई दिए।

यो विषयलाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्ने हो भने मात्र सहि हुन्छ । पहिलो कुरा कुनैपनी बस्तु जस्तो छ, त्यही रूपमा मात्र केलाउने हो भने अपुर्ण हुन्छ । बस्तुको सतह हेरेर गहिराई पत्ता लगाउन सकिदैन । दोस्रो कुरा बस्तुको अरु पक्षसंग के छ भनेर पत्ता लगाउनु पर्छ, अनि मात्र बस्तुको पुर्ण बुझाई हुन्छ । रविको रुप सक्कली हो कि नक्कली यसको केहि चर्चा गरौ ।

उनी अमेरिका बस्दा र मिडियामा काम गर्दा के के गरे, त्यता नजाउ । उनी पहिलो पटक चुनावमा सहभागी हुँदा “नो नट अगेन”भनेर मतदाता आकर्षण गरेर संसद भवन प्रवेश गरे तर सिंहदरबार प्रवेश गर्न जनमतको दुरुपयोग गर्दै “कम अगेन कम “भनेर आफ्नो कुर्सीको बार्गेनिङ गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि भए । तर पुनः नेपाली नागरिता नलिएको दोहोरो राहदानी प्रयोग गरेको कारण सर्वोच्चले ३२ दिनमै सबै पदबाट मुक्त गरिदियो । ‘नाच्न नजान्ने आंगन टेडो’ भन्ने नेपाली उखानमा जस्तै सबै दोष कुनै बेला आफैले भात खाएको थाल ठुला मिडियालाई बाह्र भाईको संज्ञा दिंदै पानी माथिको ओबानो बने । उनले कमजोरी नगरेको भए त्यतिकै कसरी मिडियाले लेख्ने थियो र अदालतले त्यस्तो फैसला गर्ने थिएन । अन्य साधारण मानिस भएको भए, सायद पद मात्र जाने होइन मान्छे पनि जेल जाने थियो होला ।

गुमेको कुर्सी प्राप्त गर्नका लागी दबाब दिन आफ्ना मन्त्रीहरू फिर्ता गरे । आफ्नो ठाउँमा पार्टीको अन्य ब्यक्ति सरकारमा पठाएको भए उदारता र नैतिकताको उचाई बढ्ने थियो। आफू संसद नै नभएको बेला म नै मन्त्री बन्नुपर्छ भनेर रोईकराई गरेर ब्यक्तिवादी प्रवृत्ति देकाए। आगामी दिनहरूमा उनको यो प्रवृत्ति झनझन बढ्ने छ। प्रधानमन्त्री बनाउने प्रस्ताव आउने हो भने उनि लेन्डुप वा जेलिस्की जे पनि बन्न तयार हुनेछन् ।

रास्वपाले “हामी नयाँ होऔं” भनिरहेको छ । उम्मेरमा नयाँ भन्ने हो भने पनि रवि ४८ वर्ष भैसके बाराक ओवामा त ४५ वर्षको उम्मेरमा अमेरिकी कार्यकारी रास्ट्रपति भएका हुन । किम जोङ इल २८ वर्षको उम्मेरमा रास्ट्रपति भएर संसारकै कान्छो राष्ट्रपति रेकर्ड बनाए। जो अहिले पनि उत्तर कोरियाको बहालवाला रास्ट्रपति हुन । उम्मेरमा पनि ४८ वर्ष भएका मानिसलाई नयाँ भन्न सकिएन । अनि पहिलो पटक चुनाव लडेको भएपनि नयाँ भन्ने हो उनी त दोस्रोपटक चुनाव लडिसके त्यसरी पनि नयाँ भन्न मिल्दैन ।

विश्वदृष्टिकोण होस् या दर्शनमा, रणनीतिमा होस् या कार्यनीतिमा, कार्यदिशा होस् या कार्यक्रममा, नेतृत्व प्रणालीमा होस् या संगठनमा, राजनीति होस् या संस्कृतमा पुरानो पार्टीको जस्तो ठोस नै छैन, झनै नयाँ त भन्नै मिलेन अब कुन जिनियस हो थाहा नै छैन ।

ग्यालो फाउन्डेसनको रिसर्च अनुसार अरुलाई गाली गर्ने र नराम्रो भन्नेमा नेपाल विश्वको छैटौं नम्बर पर्छ । नेपालको कुन पार्टी अरुलाई गाली र नराम्रो भन्नेमा एक नम्बरमा आउँछ भनेर रिसर्च गर्ने हो भने रास्वपाको नेतृत्व र कार्यकर्ता पर्नेछन । अब यस्तो गाली गलौज गर्न भिड जम्मा गर्ने प्रवृत्तिलाई नयाँ संस्कृति भन्न त पक्कै मिल्दैन होला । नेगेटिभ क्यामपेन गर्नेलाई नयाँ संगठनात्मक पदती भन्न पनि मिल्दैन होला।

एउटा अर्को भ्रम “हामी भ्रष्टाचार नियन्त्रण गर्छौ” भनेर रवि भन्छन् । आजसम्म हामी भ्रष्टाचार गर्छौं भनेर कुन पार्टी र नेतृत्वले भनेको छ र ? अरुलाई भ्रष्टाचार देख्ने स्वरापा आफै अनियमितताको फन्दामा किन फसेको त ?

रवि गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न कानुन मिचेर ७ दिने वोलपत्र गरि एउटा मात्र प्रतिस्पर्धी बनाई ठेक्का दिएर गृहमन्त्री हुँदा ठुलो नितिगत भ्रष्टाचार गरेर रविले आफ्नो असली रुप त सबैले देख्यौँ हैन र ?

“इमानदार त्यो हो जो अवसर नपाउँदा होइन अवसर पाउँदा इमानदार हुन्छ ” भनेर वामपन्थी नेता रुपचन्द्र विष्टले भनेकै जस्तो रवि अवसर नपाउँदा मात्र ईमान्दार हुन अवसर पाउदा इमान्दार छैनन् भन्ने कुरा ३२ दिन गृहमन्त्री हुँदा गरेको एउटै उदाहरण कानुन मिचेर रातारात दिएको परिचयपत्र ठेक्का काण्डले पुष्टि भयो । जुन ठेक्का नयाँ गृहमन्त्री नारायण काजी श्रेष्ठ आएपछि खारेजी गरिदिएका छन् भने अख्तियारमा पनि फाइल खडा भएको छ।

अब भन्नुहोस ‘रविको रुप सक्कली कि नक्कली ? केहि मिठा बात गरेर राष्ट्रवादी हुने हो र ? ओठहरुमा मिठा बातहरु मिठ्याएर सच्चा व्यक्ति हुने हो र ?

एमसिसी धर्मनिरपेक्षता र संघीयता जस्ता महत्त्वपूर्ण विषयमा रास्वपाको आधिकारिक कुनै धारणा देखिएको छैन । यो भित्र ठुलो रहस्य लुकेको छ। ब्रह्माण्डमा नदेखिने बल्याक होल (कालो छिद्र ) छ भन्ने पत्ता लगाउदा बैज्ञानिकहरुले जुन ठाउँमा आकाशिय पिण्डहरु झुम गरेर घेरिएको छ त्यो ब्ल्याक होल हो भन्ने निश्चित गरे। त्यस्तै गरि रास्वपामा पनि एमसिसिको पक्षमा सबैभन्दा बढी बोल्ने स्वर्णिम वाग्लेहरुको आकर्षणले देखाउछ कि रास्वपा एमसिसीको पक्षमा छ।

सुशासन र दण्डहीनताको विषयमा प्रष्ट रोड्म्याप देखिदैन । उनी गृहमन्त्री हुँदा एमाले फरार संसद लक्ष्मी कुइरी आफुसंगै एउटै हलमा एउटै लाईनमा बस्दा गिरफ्तार नगर्ने । समात्न विज्ञप्ति निकालेर यता फरारलाई सुरक्षित गर्ने र उता नागरिकलाई भ्रमित बनाए । भारती प्रहरीले गिरफ्तार गरेको कुइरीलाई नेपाल ल्याउन पहल गर्ने नेपाल प्रहरीले गरेको अनुरोधलाई नसुन्नेको जस्तो गरेका थिए । दोस्रो पटक निर्वाचित भएर संसद प्रवेश गरेको पहिलो दिन संसदमा बोल्दै “म गृहमन्त्री भएको बेला कुइरी भारतमा गिरफ्तार परेको प्रमाण छ भन्दै मोबाइलमा फोटो देखाए ।” अनि जग हसाए । कागले आफ्नो नाम आफै पुकार छ भने जस्तै आफ्नो चरीत्र आफै प्रदर्शन गरे । सवाल के हो भने दोहोरो भुमिका गर्छन् ।

जतिबेला रास्वपा सरकारमा सहभागी र समर्थन नगरे पनि सरकार बन्ने राजनीतिक स्थिरता हुने स्थिति थियो, त्यहीँ बेला बाहिर स्थिरताका लागि समर्थन गरेको भनेपनी आन्तरिक रूपमा कुर्सी पाउन र नागरिताको मुद्दाबाट उन्मुक्ति पाउन थियो । अहिले सरकारले भ्रष्टाचार लगायतका विषयमा बोल्ने होइन देखिने गरी काम गरीरहेको बेला रातारात समर्थन फिर्ता लिनुको भित्री कारण सरकार असफल बनाएर भ्रष्टाचारी बचाउने निहित देखिन्छ । अर्को कुरा राहदानीको मुद्दा दर्ता नमिल्ने बनाई सक्यो र कुर्सी नपाए पछि समर्थन फिर्ता लिएको देखिन्छ । सर्वहारा वर्गको प्रतिनिधिले दलाल पुजिँपती वर्गको प्रतिनिधिको रूपमा काम गरेको अनगिन्ती दृष्टान्त छन् तर पुजिँपती वर्गको प्रतिनिधिले सर्वहारा वर्गको प्रतिनिधिको रूपमा काम गरेको मैले थाहा पाएको छैन । रास्वपामा ७५ प्रतिशत स्वर्णिम वाग्ले जस्ता देशकै महगो निजि स्कुलमा पढेलेखेका सुख शैलमा हुर्केका र पुँजीपती संस्कार पाएका व्यक्तिहरु छन्।उनिहरुले झुपडीका मान्छेहरूको ,भुइँमान्छेहरुको बारेमा पढेका होलान् तर आफै भोगेका छैनन् । गरिबी अभाव र संकट झेलेको जनताका बारेमा उनिहरुले केहि गर्न सक्ने छैनन् ।

सुचना प्रविधि र वैदेशिक रोजगारीले गर्दा निम्नवर्ग अहिले मध्यमवर्गमा परिणत भैरहेको भएता पनि नेपालमा निम्न वर्गको नै वाहुल्यता छ। शहर केन्द्रित हुनेहरुको संख्या बढेता पनि ५९ प्रतिशत मानिसहरू गाउँमा नै छन्। मध्यम वर्ग अत्यन्तै अवसरवादी हुन्छ । सधै बलियो, स्थिर र राष्ट्रवादी देखिने शक्तिको खोजीमा हुन्छ । त्यो वर्गले केही हदसम्म रास्वपालाई मानेको हो।

काँग्रेसमा रहेका मनिष झा, स्वर्णिम वाग्ले जस्ता व्यक्तिहरु आफ्नो पार्टीमा तान्ने क्षमता रविले देखाए तर उनीहरुलाई कसरी टिकाउने हेर्न बाँकी नै छ। कांग्रेस एमाले माओवादी जस्तो लामो विरासत बोकेका पार्टीहरुले बोकेका डाइमन्डलाई ढुंगा बनाउन खोज्ने हो भने ती पार्टीहरु डाइनोसर बन्ने दिन आउन सक्छ । बचाउन हरेक पार्टीमा नयाँ पुस्ता अगाडी बढाउनु पर्छ भन्ने एउटा निचोड हो भने अर्को बढिरहेको मध्यमवर्गको संख्या र उनीहरुको नयाँ प्रवृत्तिलाई विचारसंग जोडेर लैजान सक्नुपर्छ ।

लेखेर राख्नुहोला, लेण्डुपको उदय, हिटलरको उदय, जेलेस्कीको उदय र नेपालमा जंगबहादुरको उदय नयाँ प्रति आकर्षणको जगबाट उदाएका फासिवादी शक्ति थिए । अहिले नेपालमा उदाएको शक्ति पनि नयाँ भेरीएन्ट्को फासिवादी शक्ति हो ।

लेखक: नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य हुन ।

२८ बैशाख २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको