गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड


मंसिर २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ ।

त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।

त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् । उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयलाई तत्काल समस्या समाधान गर्न भन्दै निर्देशन दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा कोर्सभन्दा बाहिरको प्रश्न सोधेपछि ३५ जना विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । सो पत्रको बोधार्थ शिक्षा मन्त्रालयलाई समेत पठाइएको छ ।

परीक्षामा ४७ जना विद्यार्थी मात्र सहभागी भएपछि परीक्षा स्थगित गर्न माग गरिएको थियो । स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको प्रश्नमा कुल ४५ पूर्णाङ्कमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः सञ्चालन गरिएपछि विवाद बनेको हो ।

पाठ्यक्रम बाहिरको प्रश्न रहेको र प्रश्नपत्र एकपटक बाहिर ल्याएर पुनः सोही प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिनु ‘गैरकानुनी’ रहेको विद्यार्थीको दाबी छ । सो विषयमा रायसुझाव पेस गर्न बनेको समितिलाई भने त्रिविले आलटार गरेर कोर्सबाट नै प्रश्न सोधिएको जवाफ दिएको थियो ।

२९ पुस २०७५ मा स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको पुरानो पाठ्यक्रमको परीक्षा लिइएको थियो । परीक्षाफल ११ वैशाख २०७६ मा प्रकाशित गरिसकिएको छ ।

प्रश्नपत्र बाहिरबाट सोधेको भन्दै पीडित विद्यार्थीहरूले सतर्कता केन्द्र, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय विश्वविद्यालय अनुदान आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, त्रिविको उपकुलपति कार्यालयमा उजुरी दिएका छन् । परीक्षाको गोपनीयता भंग भएको, परीक्षाको परिणाम फेरबदल गरेको र प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिबाटै झुटो राय आएको विषयमा उजुरी परेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले त्रिवि डीन कार्यालयसँग सो विषयमा जानकारी लिइरहेको समयमा नै डीन कार्यालयले परीक्षाफल प्रकाशन गरेको थियो । शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले गठन गरेको छानबिन समितिको प्रतिवेदनले ४५ पूर्णाङ्कमा २५ अंकको प्रश्नमा अथवा समेटिएर र पाँच अंकको छ/छैन दुवै अर्थ लाग्ने खालको प्रश्न सोधिएको र नयाँ कोर्सको हकमा सबै प्रश्न पाठ्यक्रमभित्रैबाट समेटिएको निष्कर्ष निकालेको थियो । पीडित विद्यार्थी आशिष पौडेलले प्रश्नपत्र पाठ्यक्रमबाट बाहिरिनुमा विश्वविद्यालयको गम्भीर लापर्बाही भएको बताए ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको