घर फर्कने चटारो: एकै दिन साढे दुई लाख बढी यात्रु बाहिरिँदै


असोज १७, काठमाडौं । दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

फाइल तस्बिर 

यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए । बिहीबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उनको भनाइ छ । मंगलबार १ लाख ९९ हजार १ सय २९ यात्रु बाहिरिए भने सोमबार १ लाख ५७ हजार बाहिरिएका थिए ।

एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन् । यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन् । प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताए ।

सरकारले दसैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने बताउँछन् ।

अघिल्ला वर्षभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको देखिएको छ । सामान्यतयाः दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेकोमा अहिले काठमाडौं उपत्यका भित्रिने यात्रु पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

२६ असोजमा सरकार र यातायात व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । यात्रुहरूले १६ देखि १९ गतेसम्म टिकट नपाएको गुनासो गर्दै आएका छन् ।

सरकारले यातायात सहज बनाउन भन्दै दसैंको पहिलो दिन १२ असोजदेखि लागू हुनेगरी सार्वजनिक यातायातको रुट निलम्बन पनि गरेको छ । यातायात व्यवस्था विभागले यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस् भनेर बाटो इजाजतपत्र (रुट पर्मिट) खुला गरिएको जनाएको हो । विगतका वर्षमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खुला गर्ने गरेको थियो । रुट पर्मिट खुला गर्नाले यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा गएर पनि सेवा दिने गरेका छन् ।

सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधि १२ असोजदेखि नै काठमाडौं भित्रिने ठूला मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइएको छ ।

१७ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको