नोबेल शान्ति पुरस्कार दिलाउले अभियान सुरु भएपछि इमरान खानको आयो यस्तो प्रतिक्रिया


फागुन २०, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन् ।

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । उनीहरुको तर्क छ, ‘इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरे ।’

यो अभियानमा अहिलेसम्म ३ लाखले हस्ताक्षर गरेका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।’

र यो पनि
इमरान खानलाई नोबेल पुरस्कार दिलाउन अभियान सुरु

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अनलाइन अभियान तथा हस्ताक्षर संकलन सुरु भएको छ। पाकिस्तानी सहरी क्षेत्रमा अभियानले तीब्रता पाएको हो।

भारतीय आक्रमणको जवाफी हमलापछि उनले शान्ति संकेत स्वरुप भारतीय लडाकू विमानका पाइलटलाई फिर्ता गर्ने निर्णय गरेका थिए। यस क्रममा उनले दिएको मार्मिक मन्तव्यले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा खानको व्यक्तित्व उचाई बढेको भन्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने उनीहरुले दाबी गरेका छन्।

अहिलेसम्म तीन लाखभन्दा बढीले यो अभियानमा हस्ताक्षर गरेका छन्। भारतीय पाइलट रिहा गरेर छिमेकीसँगको युद्ध अवस्था अन्त्य गर्दै उनले एक शान्तिवादी राजनेताको रुपमा आफूलाई सावित गरेको उनीहरुको तर्क छ।

भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न मुलुक हुन्। भारत प्रशासित कश्मिरको पलुवामा ४० सुरक्षाकर्मी मारिने गरी बम विस्फोट भएपछि दुवै देशबीच तनाब बढेको थियो। भारतले यो हमलापछि पाकिस्तानको बालाकोटमा आतकंकवादी संगठनहरुको शिविर रहेको दाबी गर्दै हवाई हमला गरेको थियो। जवाफमा पाकिस्तानले दुई भारतीय लडाकू विमान खसाल्दै एक पाइलटलाई नियन्त्रणमा लिएको थियो।

पाक प्रधानमन्त्री खानले भारतीय युद्धक विमानका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गर्ने निर्णय गरेका थिए। त्यसयता दुई देशबीच तनाब कम भएको छ। पाकिस्तानमा ह्यास ट्याग नोबेल प्राइज फोर इमरान खान ट्विटरमा ट्रेन्डिङ गरिरहेको छ। यसैगरी पाकिस्तान, वेलायत एवं अमेरिकाबाट चेन्ज डट ओआरजीमा पनि अभियान सुरु भएको छ।

जनस्तरको आवाज पछ्याउँदै सरकारले आधिकारिक प्रस्ताव अघि सारेको छ। पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिने विषयको एक प्रस्ताव संसदमा दर्ता गराएका छन्।

संसदबाट प्रस्ताव पारित गरी इमरान खानलाई नोबेल पुरस्कार दिलाउन माग गर्ने सो प्रस्तावमा उल्लेख छ। ‘पाकिस्तान–भारत तनाब कम गर्न इमरान खानले अप्रत्यासित तथा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’, मन्त्री चौधरीको प्रस्तावमा भनिएको छ।

यो मामिलामा भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्केण्डेय काटजूले पनि खानको तारिफ गरेका थिए। उनले भनेका छन्, ‘उनको सम्बोधन सुनेर म उनको प्रशंसक भएँ’, उनले भनेका छन्। भारतीय पूर्व न्यायाधीशको यो ट्विट पाकिस्तानी मिडियामा भाइरल भएको थियो।

२० फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको