राष्ट्रपति लो प्रोफाइलमा बस्नुपर्छ, म भएको भए जनतासँग हात मिलाउँदै हिड्थें : सांसद झाँक्री


जेठ १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद रामकुमारी झाक्रीले राष्ट्रपतिले आफ्नो पदीय दायरामा बस्नुपर्ने बताएकी छिन्। राष्ट्रपति संस्था जनताको बलिदानीबाट आएको स्मरण गर्दै नेतृ झाँक्रीले जनतालाई सास्ती, दुःख हुने काम राष्ट्रपतिबाट हुन नहुनेमा जोड दिइन्।

‘संवैधानिक हिसाबले राष्ट्रपति यो देशको संरक्षक र कानुन परिपालक हो। संरक्षक र परिपालकको भूमिका कार्यकारीजस्तो हुँदैहुँदैन्। उ लो प्रोफाइलमा बस्नुपर्छ। जति लो मा बस्यो समाजमा त्यति धेरै सम्मान पाउँछ’, उनले नागरिक न्यूजसँग कुरा गर्दै भनिन्।

राष्ट्रपति विवादमा आउँदा आफूलाई एकदमै दुःख लाग्ने गरेको भन्दै झाँक्रीले जनतालाई मन नपर्ने खालका अनावश्यक तामझाम नगर्न सुझाव समेत दिइन्। ‘राष्ट्रपति संस्था हो, व्यक्तिले त संस्थाको प्रतिनिधित्व मात्रै गरेको हो’, उनले भनिन्, ‘राष्ट्रपति पटक पटक विवादमा आउने, राजतन्त्रको भन्दा बढी वैभवपूर्ण बनाउन खोज्ने, राजा र प्रजाजस्तो दर्जा देखाउन सक्ने बनाउन खोज्दा दुःख लाग्छ।’

उनले आफू राष्ट्रपति भएको भए तामझाम गरेर जनतालाई दुःख दिनेभन्दा पनि जनतासँग हात मिलाएर हिड्ने र जनताको प्रिय हुने प्रयास गर्थे भन्ने आफ्नो विचार सुनाउँदै भनिन्, ‘हाम्रो राष्ट्रपति संस्थालाई स्थापित गर्न, जनताको बीचमा प्रिय बनाउन लो प्रोफाइलमा राख्नुपर्छ। राजकीय तामझाममा राजतन्त्र झल्किने काम गर्दै नगर्ने हुनुपर्छ। अनावश्यक राजकीय भ्रमण पनि गर्नुहुँदैन। आफ्नो पदीय दायरामा बस्नुपर्छ। आफ्नो दायित्वअनुसार स्वनियम हुनुपर्छ।’

‘लो प्रोफाइल’मा रहेकै कारण राजा वीरेन्द्र जनतामाँझ लोकप्रिय रहेको स्मरण गर्दै उनले राजतन्त्र फालेर स्थापना गरिएको राष्ट्रपति संस्था बढीभन्दा बढी जनताप्रति उत्तरदायी बनाउनुपर्ने, जनताले चाहेजस्तो हुनुपर्ने बताइन्। ‘गणतन्त्रको प्रतिक राष्ट्रपति संस्था लो प्रोफाइलमा बस्नुपर्छ। तामझाम गर्ने, सैन्य घेरामा राख्ने, जनताबाट अलग बनाउने काम गर्नैहुँदैन’, उनले भने।

नेपालमा पछिल्लो समय राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएका छन्। यतिमात्रै होइन राष्ट्रपतिका अन्य गतिविधिसमेत विवादमा पर्ने गरेका छन्।

१९ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको