तिहार: बलि राजाको किंवदन्ती


सभ्यताको उषाकालदेखि चलिआएका हाम्रा जात्रा, चाडपर्व प्रकृतिपरक छन्। तिहार यसको अपवाद होइन। यो चाड ऋतुमय छ। यसको नाम मात्रैले पनि हामी नेपालीका आँखामा शरद ऋतुको न जाडो, न गर्मीका रमाइला पारिला दिनहरू, जता हेर्‍यो त्यतै मनै हर्ने सुनौला धानका बालाले झुलेका खेतहरू र पहेँला तोरीबारीहरू, सयपत्री, मखमली–सुपारी, गोदावरीलगायत लालुपाते फूल अनि अनेकथरी पोटिला फलले नुहिँदै–झुल्दै गरेका बोटबिरुवा नाच्न आइहाल्छन्।

यी सबैले यो ऋतु सम्पन्न नहुँदो हो त तिहार पनि आउने थिएन वा भनौं रमझममय, झिलिमिली तिहारको कल्पनासम्म गर्न सक्ने थिएनौं। न त मादल घन्काउँदै लोकलयमा देउसी, भैलो खेल्न/हेर्न पाइन्थ्यो, न त आरोग्य र दीर्घायुको कामना गरी म्ह पूजा/शरीरपूजा नै गर्न पाइन्थ्यो। न त नेपालकै माटोमा एक निरंकुश राजाले नभएर एक सर्वसाधारण नेपालीले चलाएको हाम्रै आफ्नै नेपाल संवत्को नयाँ वर्ष मनाउन पाउँथ्यौं। न त सेलरोटी नै खान पाइन्थ्यो। न त सेलरोटी र फलफूल लिएर आएका स्नेही दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा सत्कार गरी आयु लामो हुने आशिष् नै दिन सक्थे।

माया र स्नेह अनि आत्मीयपनका भावनात्मक लहर त्यसरी राष्ट्रिय चाड भएर उठ्ने थिएन। यी भए हाम्रा मनका कुरा। अब लागौं तिहारतिर ! के हो तिहार ? किन मनाउँछौं हामी तिहार ? के हो यस पर्वले दिन खोजेको सन्देश ?

०००

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड हो– तिहार। पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिन भाइ तिहार हो। तिहारलाई यमपञ्चक पनि भनिन्छ।

पाँचै दिन बत्ती बालेर यो चाड मनाइन्छ। यसैले यसलाई दीपावली पनि भनिन्छ। नेवारहरू तिहारलाई स्वन्ति (सुन्ति नखः) भनेर मनाउँछन्। स्वन्तिकै पूर्व रूप स्वाँति हो। वर्षभरि प्रकृतिमा सर्वाधिक बढ्ता फूल फुल्ने समय पनि यही ऋतु हो। यसैले त्यही कुराको बोध स्वाँति/स्वन्तिले गराएको छ।

नेपाल रमाइला पौराणिक कथा/किंवदन्तीको पनि देश हो। यस्तो लाग्छ, मानौं हजारौं वर्षअघिदेखि चलिआएका ती कथा/किंवदन्ती नेपाली जात्रा चाडर्वका आत्मा हुन्। यस्तो कुनै पनि जात्रा, चाडपर्व छैन जसले कथा/किंवदन्तीलाई आधार नमानेको होस्।

तिहार पनि यस कुराको अपवाद होइन। हामी यो चाड किन मनाउँछौं वा किन चलेको थियो होला भनी बूढापाकासित सोध्यौं भने उनीहरूले उत्तिखेरै ‘बलि राजा’को दान महात्म्य जोडिएका पौराणिक कथा सुनाइहाल्छन् जुन संक्षेपमा यस्तो छ:

दानपुण्यका लागि तीनै लोकप्रसिद्ध, तीनवटै लोकमा राज्य गरिरहेका दानवराज बलिले अश्वमेध यज्ञ गर्न लाग्दा विष्णुले वामन अवतार धारण गरी उनीकहाँ गएर तीन पाउ जमिन दान मागे। बलिले संकल्प गरी वामन विष्णुलार्ई तीन पाउ जमिन दिनासाथ उनले विक्रान्त रूप धारण गरी आफ्नो शरीर बढाउँदै विशाल पार्दै एक पाउ बढाएर समस्त स्वर्ग र आकाश र अर्को पाउ बढाएर पूरै पृथ्वीलाई ढाकी आफ्नो अधीनमा लिए।

अनि तेस्रो पाउ जमिन माग्दा बलिले आफ्नै शिरमा विष्णुको पाउ थापेपछि उनको दान–पुण्यबाट अत्यन्त प्रभावित र खुसी भई विष्णुले उनलाई पाताल लोकको राजा बनाइदिए। विष्णुबाट राजा बलिले कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तीनवटै लोकको राज्य गर्ने वरदान पनि पाए। विष्णुले इन्द्रलाई स्वर्ग र मानिसलाई पृथ्वी सुम्पे।

यस प्रसंगमा कुलचन्द्र कोइराला ‘नेपाली सांस्कृतिक जात्रापर्व’ (३२–३३) मा यसरी थप्छन्: यसपछि देवता र मान्छेले गरेको राज्यभन्दा आफ्नो पाँच दिनको राज्यमा विशेषता देखाएर बलिको राज्य भन्ने चिनाउन पाँचैं दिन दीपावलीले घर, गोठ, मन्दिर, प्रमुख बाटो, घाट झकिझकाउ पार्नुपर्ने, यसो गरेमा लक्ष्मी खुसी भएर दीपावलीको उत्सव मनाउनेका घरघरमा बस्नुपर्ने, यमराज पनि खुसी हुने वर पनि प्राप्त गरे।

त्यसैबेलादेखि प्रतिवर्ष तिहारका पाँच दिन बलिराजाको राज्य मान्ने प्रथा चल्यो। इन्द्रादि दशदिक्पालले बलिराजालाई राज्य छाड्नुपर्ने हुँदा, यमराजले पनि वर्षका पाँच दिन बिदा पाउने भए। बिदाको दिनमा के गर्ने भनेर विचार गर्दा सधैं दाज्यु आउनुभएन भनेर पीर गर्ने बहिनी यमुनाका घरतिर गएर पाँच दिन गुजार्ने विचार गरे।

बहिनीको स्वागत–सत्कार पाएर अन्तिम बिदा हुने दिनमा आफू बहिनीबाट पुजिनु र बहिनीलाई पनि दाजुले पूजाआजा गरी बस्त्र आभूषणहरू दिएर भ्रातृस्नेह जनाए। भाइको सत्कार गर्ने दिदीबहिनीको पूजा–सत्कार गर्ने दाजुभाइको आयु, कीर्ति बढ्ने धनधान्य वृद्धि हुने वरदान पनि पाए। यिनै कथाको आधारमा तिहारको यमपञ्चक नाउँ रहेको र यो चाडलाई ठूलो चाडको रूपमा मनाउने चलन चल्यो।

प्राचीनता

विष्णु, यमराज, इन्द्र आदि ऋग्वैदिक देवताहरू हुन्। ऋग्वेदमा विष्णुलाई इन्द्रका सहायक देवताको रूपमा चर्चा गरिएको छ। त्यस्तै तीन पाउले लोक ढाकेको कुरा पनि उनका मन्त्रमा भेटिन्छन्। त्यहाँ सुर/देवताहरू र असुर/दानवहरूका युद्धका कुराहरू पनि आउँछन। हाम्रो धर्म–संस्कृतिमा सुर सदैव सकारात्मक/असल र असुर सदैव नकारात्मक/खराब कुराको प्रतीक रहिआएको छ। ऋग्वेदको रचना ई.पु. १५००–९०० को बीचमा भएको मानिन्छ।

माथिका पौराणिक कथामा वैदिक छापको आभास स्पष्ट मिल्छ। यताबाट यो चाडको सुरुआत त्यसैबेलादेखि भएको दृष्टिगोचर हुन्छ। लिच्छवि राजा मानदेव प्रथमले आफ्नी आमा राज्यवतीको पुण्य बढोस् भनी ई.सं.४६७ मा लाजिम्पाट र तिलगंगामा स्थापना गर्न लगाएका दुईवटा त्रिविक्रम वामनमूर्ति (विष्णुविक्रान्तमूर्ति) हरू छन्।

ती मूर्तिहरूमा बलि राजाले अश्वमेध यज्ञ गरिरहेको अवस्थामा वामन विष्णु आएको, असुरहरूका गुरु शुक्राचार्यले वामनरूपी विष्णुलाई चिनेर दान नदिन बलिराजालाई इशारा गर्न लागेको, बलिराजाले कमण्डलु लिई संकल्प गरी विष्णुवामनलाई तीन पाउ जमिन दिन लागेको र त्यसपछि विष्णुवामनले विशाल शरीर धारण गरी पूरै विश्वब्रम्हाण्डलाई आफ्नो अधीनमा लिई विक्रान्त रूप धारण गर्न पुगेको दृश्य ती मूर्तिहरूमा बडो सजीव र सुन्दर ढंगले अंकित गरिएका छन्।

बलिराजाको कथा वा भनौं वामनावतारको कथालाई मूर्तिमा उतार्दै मूर्तिनिर्माण गर्ने यो प्रवाह मध्यकालको पूर्वाद्धसम्म पनि लोकप्रिय ढंगले चलिरहेको थियो। शिखरनारायण फर्पिङको ई.सं. चौधौं शताब्दीको विष्णुविक्रान्तको मूर्ति यस कुराको पुष्टिका लागि उदाहरणस्वरूप छ। स्मरण रहोस् !

विष्णुविक्रान्तका यस्ता मूर्तिहरू उता भारतमा नेपालको तुलनामा करिब एक सय ५० वर्षपछि मात्र बन्न थालेको मान्यता कला पारखीहरूको छ। जे होस् ! यी मूर्तिले पनि नेपालमा इस्वीको पाँचौं शताब्दीसम्म आइपुग्दा यो चाड लोकप्रिय भइसकेको र यसले मध्यकालमा पनि निरन्तरता पाउँदै वर्तमानमा पनि उत्तिकै लोकप्रिय ढंगले चलिरहेको जानिन्छ। अब छोटकरीमा कुरा गरौं तिहार वा यमपञ्चकका पाँच दिनबारे।

इस्वीको पाँचौं शताब्दीसम्ममा तिहार लोकप्रिय भइसकेको थियो। तिहारले मध्यकालमा पनि निरन्तरता पायो।

गणेशपूजा (कात्तिक कृष्ण द्वादशी)

हाम्रो धर्म संस्कृतिमा बिघ्नविनाशक, एक मात्र मांगल्यदेव गणेशलाई अग्रपूजाको सम्मान प्राप्त छ। यसैले तिहार सुरु हुनु एक दिनअघि गणेश/हात्तीपूजा गर्ने चलन रहेको विदितै हुन्छ। यस दिनलाई यमपञ्चकारम्भको रूपमा समेत मानिएको छ। यस दिनलाई गोवत्स द्वादशी पनि भनिन्छ।

काग तिहार: (कात्तिक कृष्ण त्रयोदशी) तिहार वा यपमञ्चकको पहिलो दिन कागपूजा गरिन्छ। यमराजका सन्देशवाहक दूत काग हुन्। यसैले सर्वप्रथम कागलाई पूजा गरी सन्तुष्ट पार्दा कल्याण हुन्छ भन्ने विश्वास र मान्यता रहिआएको छ। आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य, देवताहरूका वैद्य धन्वन्तरिको जन्मदिन (धन्वन्तरि जयन्ती) पनि यसै दिन मनाइन्छ। प्रकृति र वातावरणलाई सफासुघ्घर राख्दै मानिसलाई गुण लगाउने हितकारी पंक्षी काग पनि हो।

कुकुर तिहार: (कात्तिक कृष्ण चतुर्दशी) कुकुर पनि यमराजका दूत हुन्। यस दिन कुकुरलाई फूलमाला पहिर्‍याई मीठो खानेकुरा दिएर पूजा गरिन्छ। कुकुर मानिसको असल मित्र पनि हो। यो मित्रता इतिहासका दृष्टिले पनि १० हजार वर्ष पुरानो भइसकेको छ। मानिसले प्राग इतिहासकालमा (नवपाषाणयुग) सर्वप्रथम घरपालुवा बनाएको जीव कुकुर नै थियो। मानिसको जीवनमा कुकुर आएपछि उसले सुरक्षा पायो, सिकारमा समेत साथ पाएर उन्नति प्रगति गर्न सक्यो। आजको सभ्य मानिस ढुंगे युगबाट यहाँसम्म आइपुग्नमा उसको असल मित्र कुकुरको पनि ठूलो भूमिका छ।

गाई तिहार: (कात्तिक कृष्ण औंसी) यस दिन गाईको पूजा हुन्छ। वैदिककालमा गाईलाई मुद्राकै रूपमा समेत प्रचलनमा ल्याइन्थ्यो। गाई सम्पन्नताको प्रतीक थियो। गाईको अभावमा कृषि, व्यापार वाणिज्यको कल्पना पनि गर्न सकिन्नथ्यो। यसैले गाई पूजाको संस्कृति चल्यो। गाई लक्ष्मी वा धनकै प्रतीक बन्न पुग्यो। यसैले यस दिनमा दीपमालिका–लक्ष्मीपूजा पनि गरिन्छ। यसै दिनदेखि तीन दिनसम्म भैलो र देउसी खेल्ने गरिन्छ। व्यापारीहरूका लागि यो दिन महत्वपूर्ण मानिन्छ।

स्मरण रहोस् ! यस दिनको लक्ष्मीपूजाले हामीलाई कोजाग्रत पूर्णिमाको रातदेखि पुजिँदै आउने षोडशलक्ष्मीको पूर्णताको आभास पनि गराउँछ। विशेषगरी नेपालमण्डलका नेवार सांस्कृतिक जीवनले मान्दै आएको तन्त्रप्रधान मोहनी नखः(दसैं) को समापन दिन ‘कोजाग्रत पूर्णिमा’ ले स्वन्ति नखः वा तिहारको शुभारम्भको झझल्को पनि विधिवत् लिएर आएको हुन्छ।

जस्तै यस रातदेखि लक्ष्मीपूजाको रातसम्म १६ वटा रातहरू पर्छन्। यसरी कोजाग्रत पूर्णिमादेखि लक्ष्मीपूजाको रातसम्म पुजिने षोडशलक्ष्मीहरू क्रमशः यस प्रकार छन्: सर्वलक्ष्मी, विश्वलक्ष्मी, भुवनलक्ष्मी, राज्यलक्ष्मी, मण्डललक्ष्मी, गुह्यलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, सन्तानलक्ष्मी, जयलक्ष्मी, खड्गलक्ष्मी, बुद्धिलक्ष्मी, धृतिलक्ष्मी, ज्ञानलक्ष्मी, मोक्षलक्ष्मी र सोह्रौं रात वा भनौं लक्ष्मीपूजाको रातमा पुजिने लक्ष्मी महालक्ष्मी हुन्।

विष्णुका शक्ति लक्ष्मी हुन्। महाविष्णुका शक्ति महालक्ष्मी हुन्। लक्ष्मी रातमा आउँछिन् भन्ने मान्यता पनि रहिआएको छ। यसैले झ्यालढोका खुल्ला राखी, दीप प्रज्वलनसँगै महामक्ष्मीको पूजा उपासना गरिन्छ। र, षोडशलक्ष्मीको पूजा उपासनाको पूर्णतापछि भोलिपल्ट म्हपूजा वा आत्मपूजा गर्छन्। नेवार–संस्कृतिमा छोरीको अति महत्व छ। आँसु झर्दाका क्षणमा होस् वा हाँसोका क्षणमा, छोरीबाट महत्वपूर्ण विधिविधान संस्कार गर्ने परम्परा छ। म्हपूजा पनि यस कुराको अपवाद होइन। यसैले त्यसको भोलिपल्ट छोरीहरूबाट किजापूजा (भाइपूजा) गरिन्छ।

गोरु तिहार: (कात्तिक शुक्ल प्रतिपदा) यस दिन गोरु पूजा गरिन्छ। यो पूजाले आदिम मानवले कृषिको आविष्कार गरी ढुंगे युगबाट सभ्यताको युगमा प्रवेश गरेको आजभन्दा करिब नौ हजार वर्षअघिको घटना सम्झाएको छ, जहाँ उसले गोरुको साथ पाएर हल जोत्न जानेको थियो।

गाई–गोरुको साथ पाएपछि मानिसका दुःखका दिनहरू पनि सदाका लागि सकिए। उसले पछाडि फर्केर हेर्नुपरेन। पहिले जस्तो सिकारको मात्र पनि भर पर्नु परेन। स्थायी बसोबास, उद्योग–धन्धा, राजनैतिक र धार्मिक विकास गरी सभ्यताको चरमचुलीमा पुग्न सफल भयो।

अब ऊ पशुबाट पनि निकै माथि उठेर ‘मानिस’ भइसकेको थियो। ऊ पशुहरूका पनि पति वा मालिक बनेर ‘पशुपति’ भइसकेको थियो। उसलाई त्यो हैसियतमा पुर्‍याउनेमध्येका एक त गोरु नै थियो। यसैले पनि गोरुको सम्मानमा गोरुपूजा चलेको हुनुपर्छ।

यस दिन व्यापारीहरूले अघिल्लो रातमा पुजिएकी लक्ष्मीलाई आह्वान गरी बहीखाता पुज्ने चलन छ। उनीहरू यस दिनलाई त्यस रूपमा नयाँ वर्षकै रूपमा मान्दछन्। आजको विज्ञान–प्रविधिको नितान्त नूतन युगमा पनि कुनै न कुनै रूपमा चलिरहेको यो प्राचीन परम्पराले हामीलाई यहाँनेर नेपाल सम्बत्को झल्झली स्मरण गराउँछ।

नेपाल सम्बत्को नयाँ वर्षको शुभारम्भ पनि यसै दिन हुन्छ। वि.सं.९३७ मा नेपाल सम्बत् चलेको थियो। यो सम्बत्लाई शंखधर साख्वाल नामका व्यापारीले चलाएका थिए। यो सम्बत कुनै व्यक्तिको नाममा नभएर राष्ट्रको नाममा चलेको सम्बत् थियो। संस्कृति शिरोमणि हरिराम जोशीका अनुसार, नयाँ वर्षको उपलक्ष्यमा उनले सारा जनताहरूको ऋणमोचन मात्र गरेनन् दासत्वमोचन पनि गरेका थिए। यस आधारमा नेपाल नै दासप्रथा अन्त्य गर्न प्रयत्नशील विश्वको पहिलो देश हो भनी मान्न सकिन्छ।

अनि यसै दिन नेवारहरू आ–आफ्नै रीतका मण्डल बनाएर म्ह पूजा (आत्मपूजा/शरीरपूजा) गर्छन्। गोवद्र्धन पूजा पनि यसै दिन गरिन्छ। यी पूजाहरूले यहाँ अहं ब्रम्हास्मिको वैदिक मन्त्र आदर्श अनुरूप बाह्य देवतालाई होइन, आफ्नै हृदयपटलको परमात्मालाई पुज्ने कुरालाई सम्झाएको छ। निरंकुश राजतन्त्रका प्रतीक इन्द्रको दमनबाट मुक्त भई गणतन्त्रको जित भएको वा भनौं जनशक्तिको विजय भएको र त्यसकै प्रतीक प्रत्येक वर्ष गोवद्र्धन पूजा मनाउने चलन चलेको प्रतीत हुन्छ।

भाइ तिहार: (कात्तिक शुक्ल द्वितीया) भाइ तिहार किन वा कसरी सुरु भयो भन्ने कथा हामीले माथि नै प्रस्तुत गरिसकेका छौं। यस दिन दाजुभाइलाई दिदीबहिनीले आत्मीय भावले पूजा सत्कार गरी सगुनसहित फलफूल मिष्ठान्न दिन्छन् र दीर्घायुको कामना गर्छन्। चित्रगुप्तको पूजा पनि यसै दिन गरिन्छ। माथि पनि चर्चा भइसकेको छ कि नेवारहरू ‘किजापूजा’ भनी पूजा गर्छन्।

०००

दान दिनु ठूलो कुरा हो। लिएको दानलाई लोकको हितमा सदुपयोग गर्नु अझ त्यो भन्दा पनि ठूलो कुरा हो। धार्मिक समन्वय र सांस्कृतिक एकता नेपाली चाडपर्वका मूल विशेषता हुन्।

देवता, दानव र मानिस दृष्टि र प्रवृत्तिको कुरा हो ती सबै हामी नै हौं, खोतलेर, नियालेर हेरेको खण्डमा ती हामीभित्रै छन्, बाहिर जानु पर्दैन। सबै बराबर छन्। कर्मले विशेष भइन्छ। ऊँचनीच, ठूलो, सानो, पानी चल्ने नचल्ने कोही छैनन्। त्यसरी फरक पार्ने हामीभित्रका दानव हुन् देवता होइनन्।

कुनै पनि जाति र धर्म सम्प्रदायका देवताले भेद गर्दैनन्। भेद गर्ने ता हामी नै हौं। होइन र ? यदि हो भने त्यस्तो असुर विचारलाई त्यागेर सुरमा लाग्नु मानवधर्म हो। यसले पनि हामी नेपालीमाझ एकात्मभाव ल्याउँछ। मलाई लाग्छ, स्वन्ति नख: तिहारले दिन खोजेको सन्देश यी पनि हुन्।

पुरुषोत्तमलोचन श्रेष्ठ/अन्नपूर्ण पोष्ट 

१७ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको