नेकपा एकता: फुकेन जनवर्गीय संगठनको गाँठो


बैशाख १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन ।

सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल नै अगाडि बढ्न सकेको छैन । ७७ जिल्लाका अध्यक्ष र सचिवालयको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पार्टी एकतापछि पदाधिकारीको टुंगो लगाउन बनेको मापदण्ड अध्यक्ष र सचिव चयनमा भत्किएको छ । जिल्लाको एकता टुंगोसँगै जनवर्गीय संगठनको एकतामा पनि सोही मापदण्डअनुसार तय गरिनुपर्ने दबाब नेतृत्वलाई शुरु भएको छ ।

७ सय ५३ स्थानीय पार्टी कमिटीको एकता प्रक्रियामा पनि सोही मापदण्ड बनाउने कि नबनाउने भन्ने विषयमा सचिवालयभित्र विवाद रहेको छ । जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जिल्ला कमिटीले पूर्णता पाउन सकेको छैन । स्थानीय तहको कमिटीको अन्योल पनि कायमै छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक छलफल भए पनि मापदण्डको टुंगो लाग्न सकेको छैन । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा रहेकाले पनि केही दिन सचिवालयको बैठक नबस्ने भएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख १५ गते बस्ने सचिवालय बैठकले मापदण्ड तय गर्नुका साथै जनवर्गीय संगठनको एकताको टुंगो लगाउने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जनवर्गीय संगठनको एकता टुंगो लगाउन गृहकार्यमा जुटेका छौं, कस्तो मापदण्ड बनाएर टुंगो लगाउने भन्ने सहमति जुटिसकेको छैन ।’

१३ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको