भदौ २७, काठमाडौँ । पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।
यो खबर आजकोनयाँ पत्रिका दैनिकमा छ । उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् ।
बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे ।
तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले भनेका थिए । तर, न्यायको पक्षमा उभिँदा गोली हानी एकजनाको हत्या गरियो, अर्का एक अचेत छन् । यत्रो ठूलो मूल्य चुकाएर प्रहरीले भन्न बाध्य भएको छ, ‘दिलीपसिंह विष्टको अपराध पुष्टि हुन सकेन ।’
यसरी शृंखलाबद्ध रूपमा प्रहरीले एकपछि अर्को निर्दोषलाई अभियुक्त बनाउन खोजेको छ, तर स्थानीय जनताले जोमाथि औँला उठाएका छन्, उनलाई गिरफ्तारसमेत गरिएको छैन ।
यसरी सोझासीधा जनतालाई पक्राउ गर्ने र यातना दिएर अपराध बक्न लगाउने एसपी विष्टकै छोरा किरणमाथि नै अनुसन्धान गर्न स्थानीयवासीले माग गरिरहेका छन् ।
तर, उनीमाथि अनुसन्धान भएको छैन । प्रहरीको विश्वसनीयता र सरकारको संवेदनशीलतामाथि यति ठूलो प्रश्न उठ्दा पनि प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक छन् ।
प्रतिक्रिया दिनुहोस