सल्यानमा जंगली जनावरले खेती सखाप पारेपछि…


साउन ३१, सल्यान । मुख्य बाली मकैमा जंगली जनावरको उपद्रो बढ्न थालेपछि सल्यानका किसानहरु चिन्तामा परेका छन् । जंगलबाट हुल बाँधेर आउने जंगली जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि किसानहरु चिन्तीत बनेका हुन् ।

जिल्लाको विभिन्न स्थानमा बंदेल, दुम्सी, बाँदर लगाएतका जनावरले मकै, कोदो, धान, तरकारि बालीमा क्षती पुर्याएको किसानहरुले बताउँछन् । वर्षभरि खाने अन्न जनावरले नष्ट पारेपछि किसानहरुले स्थानीय तह तथा सम्बन्धीत कृषि कार्यालयमा क्षतीपुर्ती खोज्दै निवेदन समेत पेश गरेका छन् । मकै तथा तरकारिको बोट सखाप हुनेगरि ढाल्ने, फल खाने तथा क्षती पुर्याउने गरेको किसानहरु बताए ।

बाली जोगाउन रातभर कुरेर बसे पनि जनावरको आतंक रोक्न नसकिएको कपुरकोट गाउँपालिका ३ का किसान पूर्ण बहादुर खड्काले बताए । उनले भने, ‘मेरो १३ रोपनि बारीमा लगाएको मकै बाली घोगा लाग्ने बेलामा जंगलबाट हुलका हुल आएर बंदेलले सखाप पारे ।’ वर्षभरि खाने सबै अन्न जनावरले सखाप पारेपछि कसरि परिवार पाल्ने भन्ने चिन्तामा रहेका उनले कपुरकोट गाउँपालिकाको कृषि शाखामा निवेदन हालेका छन् ।

उनी लगाएत १५ भन्दा बढि किसानले क्षतीपुर्तीको माग गर्दै निवेदन दिएको कृषि शाखा कपुरकोटका कृषि प्राविधिक सहायक पूर्ण प्रसाद तिमिल्सीनाले जानकारि दिए ।

‘एकजना किसानले लगाएको २० रोपनि सम्म मकै तथा तरकारी बाली बंदेल, दुम्सी लगाएतका जनावरले नष्ट गरेको छ,’ उनले भने, ‘किसानहरु क्षती माग्दै दिनहुँ जसो हाम्रो कार्यालयमा आएर निवेदन दिने गर्नुभएको छ ।’ जंगली जनावर नियन्त्रणका लागी कसैले पनि चासो नदिएको किसानहरुको भनाइ छ ।

कृषि शाखाले आफ्नो कार्यालयमा निवेदन आएपश्चात सम्बन्धीत किसानको बारीमै पुगेर क्षतीको विवरण संकलन गर्ने गरेको छ । कृषि प्राविधिक सहायक टिका राईले भनिन्, ‘१२ जना किसानको मात्रै पाँच लाख ५० हजार पाँच सय रुपैयाँ बराबरको मकै बालीमा क्षती भएको छ । निवेदन नपरेका अरु धेरै किसानहरुको बाली पनि जंगली जनावरले नष्ट पारी दिएको छ ।

क्षती भएको फोटो र किसानको निवेदन सहित आफुहरुले इलाका वन कार्यालयमा सिफारिश गर्ने गरेको राइले जानकारि दिइन् । निवेदन पश्चात आफुहरुले राहात पाउने किसानको अपेक्षा छ । यद्यपि विहान बेलुकी छाक टार्न पनि धौ धौ पर्ने किसानलाई समस्या पर्दा सरकारी निकायले समस्या समाधानमा चासो नदिएको किसानहरु बताउँछन् ।

जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौ धौ परेको छ । दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि किसानहरुलाई मकैबाली जोगाउन सकस परेको हो । जंगल विनाश हुदै जादा जंगली जनावरहरु मानव बस्तीमा आई भित्र्याउनै लागेका अन्नबाली सखाप पार्ने गरेको पाइएको छ ।

३१ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको