सल्यानको छत्रेश्वरीमा एकै दिन ६ वटा बालमैत्री पुस्तकालय उद्घाटन


माघ १४, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकै दिन ६ वटा पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका ६ वटा सामुदायिक बिद्यालयमा स्थापना गरिएका बालमैत्री पुस्तकालयको आइतबार एकसाथ उद्घाटन भएको हो ।

गाउँपालिका र दलित बिकास समाज, रुम टु रिडको साझेदारिमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयहरुमा पुस्तकालय उद्घाटन गरिएको हो । प्रारम्भिक कक्षाका बालबालिकाहरुको पढ्ने सीप र पढ्ने बानीको बिकास गर्नका लागि भन्दै छत्रेश्वरी १ को भानुभक्त मावि दमाचौर, लक्ष्मी आधारभुत विद्यालय जलेखर्क, वडा नम्बर ३ को जानकारी मावि दोहली, गोरखनाथ आवि सान्नानचौर, वडा नम्बर ४ को सिद्धेश्वरी आवि चौरपाटा र खडगनाथ आवि झंखानीमा एकै दिन बालमैत्री पुस्तकालय उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।

छत्रेश्वरी ४ स्थित सिद्धेश्वरी आवि चौरपाटामा पुस्तकालय उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बालबालिकाको पढ्ने बानीको बिकास गर्नका लागि पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बिश्वास व्यक्त गरे । बालबालिकाहरूमा पढ्ने बानीको सुधार भएन भने उनीहरूको पढाइप्रति रूचि, चाहना, इच्छा नहुने भन्दै उनले बालबालिकाको पढ्ने बानीको सुधार गर्न पुस्तकालयको उपयोग गर्नुपर्नेमा जोड दिए ।

वडा नम्बर ३ को जानकारी मावि दोहलीमा पुस्तकालय उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले वालवालिकालाई विद्यालयमा जाने वातावरण बन्नुपर्ने भन्दै वालवालिकाको सुन्दर भविष्य निर्माणका लागि सबै लाग्नुपर्ने बताइन् ।

कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भएकाले बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गरी स्वतन्त्र पाठक बनाउन पुस्तकालयको स्थापना गरिएको साक्षरता कार्यक्रम सल्यानका सिनियर कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।

एक पुस्तकालयमा ७०० देखि ८०० को संख्यामा बाल पुस्तक राखिएको र प्रतेक वर्ष पुस्तकको सन्ख्या बढ्दै जाने उनले बताए । बालमैत्री पुस्तकालयमा प्रारम्भिक तहका बालबालिकाको इच्छा, चाहना, रूचि र तहअनुसारका कथा, विषयवस्तु, विधा, सामाजिक अवस्था, जीवनोपयोगी सीप र विषयवस्तु समेटिएका पुस्तकहरु राखिएको र पुस्तकालयको रेखदेख र व्यवस्थापनमा जोड दिइने गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जनाएका छन् ।

१४ माघ २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको