परिवर्तन गाउँपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित


असार १०, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ ।

असार ८ गते आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट अधिबेशन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा २ बमोजिम पन्ध्रौं गाउँसभामा पेश गरिएको थियो ।

असार ८ र ९ गते नीति तथा कार्यक्रम माथि छलफल गरि असार १० गते पारित गरिएको हो । परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढामगरका आमाको निधनमा शोक प्रस्ताव, आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक ऐन परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्दले प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०८०÷०८१ को बिनियोजन ऐन परिवर्तन गाउँपालिका–५ का वडा अध्यक्ष दिल बहादुर वलीले गर्नु भएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले २०७९÷०८० मा भएका गाउँकार्य पालिकाले गरेका महत्त्वपूर्ण निर्णयहरु प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ को बजेटको उद्देश्य सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास एवं सुशासन प्रवर्द्धन गरी“समृद्धि, सुरक्षित, सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका“भन्ने मूलनारालाई साकार पार्न योगदान गर्ने रहेको छ । उपलब्ध साधन, स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गर्दै गाउँपालिका बासीको आवश्यकता परिपूर्ति गरि समृद्धि हासिल गर्ने रहेको छ । शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकता दिई आम नागरिकको सहज पहुँच वृद्धि गर्दै गुणस्तरीय सामाजिक विकास,सुरक्षा र न्याय प्रत्याभूत गर्ने।नागरिकहरुलाई उद्यमशीलता र व्यावसायिकता तर्फ आकर्षित गरि दिगो आर्थिक वृद्धि हासिल गर्ने । सार्वजनिक सेवा प्रवाहमा नागरिक पहुँच अभिवृद्धि गर्दै सेवा प्रवाहको सवलीकरण गरि सुशासन कायम गर्ने, कृषि तथा पशु क्षेत्रमा यान्त्रिकिकरण र व्यावसायिकिकरणको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषि तथा पशु क्षेत्रको प्रवर्द्धन गर्ने । रोजगार सृजना र आय आर्जनका माध्यमबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउने रहेको छ ।

परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्य प्रस्तुत गर्नु भएको थियो । बुढा मगरले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ८ करोड ५७ लाख, शशर्त अनुदान चालू तर्फ १८ करोड ७० लाख,शशर्त अनुदान पुँजीगत तर्फ १ करोड ३० लाख, विशेष अनुदान १ करोड १५ लाख र राजश्व बाँडफाँड बापतको ८ करोड ९० लाख २३ हजार ५ सय गरी कुल ३९ करोड १७ लाख २३ हजार ५ सय बजेट प्राप्त भएको बताए ।

यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान ५८ लाख १७ हजार,राजश्व बाँडफाँड बापत ३१ लाख ३३ हजार ३ सय ८४ रुपैयाँ, समपुरक अनुदान १ करोड,शशर्त अनुदान पुँजीगत ८० लाख र शशर्त अनुदान १ लाख ५० हजार गरी कुल २ करोड ७१ लाख ३ सय ८४ रुपैयाँ अनुमानित बजेट प्राप्त भएको बताए ।

त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाको आन्तरिक आम्दानी ३५ लाख ५० हजार हुने प्रक्षेपण गरिएको छ भने संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट र गाउँपालिकाको आन्तरिक आम्दानी गरी आर्थिक वर्ष २०८०÷०८१ मा कुल जम्मा बजेट ४२ करोड २३ लाख ७३ हजार ८ सय ८४ रुपैयाँ रहेको छ । कुल बजेट ४२ करोड २३ लाख ७३ हजार ८ सय ८४ रुपैयाँँ मध्ये चालु तर्फ २८ करोड २८ लाख ५६ हजार ८ सय ८४ रुपैयाँ अर्थात ६६ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ९५ लाख १७ हजार अर्थात ३४ प्रतिशत बजेट बिनियोजन गरिएको बताए । साथै वडा कार्यालयका लागि अनिवार्य अनुदान १६ लाख र वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्वको अवस्थालाई मुख्य सूचक सहितको शुत्रमा आधारित गरि सबै वडा तर्फबाट स्थानीयको सहभागितामा छनोट भइ आएका योजनालाई प्राथमिकता दिने गरि १ करोड ५० लाख बजेट बिनियोजन गरिएको बताए ।

जसमध्ये परिवर्तन गाउँपालिका–१ मा रु.२७ लाख ६५ हजार ५ सय,परिवर्तन गाउँपालिका–२ मा २६ लाख ८९ हजार ७ सय,परिवर्तन गाउँपालिका–३ मा २२ लाख ४८ हजार ७ सय,परिवर्तन गाउँपालिका–४ मा २६ लाख ९३ हजार,परिवर्तन गाउँपालिका–५ मा २४ लाख ५१ हजार ५ सय र परिवर्तन गाउँपालिका–६ मा २१ लाख ५१ हजार ६ सय रुपैयाँ बिनियोजन गरेको बताए । पूर्वाधार विकास तर्फ बिनियोजन गरिएको ६० लाख रकमबाट सुत्रका आधारमा परिवर्तन गाउँपालिका–१ मा ५ लाख ५० हजार,२ मा १० लाख, ३ मा १० लाख,४ मा ५ लाख ५० हजार, ५ मा ५ लाख र ६ मा ४ लाख पूर्वाधार निर्माण हुने गरी बजेट बिनियोजन गरिएको बताए।परिवर्तन गाउँपालिकाले जेसिवी सञ्चालनका लागि रु.२० लाख बजेटको बिनियोजन गरेको बताए ।

१० असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको