देशलाई युक्रेन बनाउने अमेरिकी योजना असफल बनाउने जिम्मेवारी नेकपाको काँधमा आएको छ: शितल


भदौ ४, दाङ । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले देशलाई युक्रेन बनाउने अमेरिकी योजना असफल बनाउने जिम्मेवारी नेकपाको काँधमा आएको बताएका छन् ।

नेकपा पश्चिम दाङको पाचौं पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितलले उक्त कुरा बताएका हुन् ।

बैठकमा बोल्दै नेता शितलले भने– ‘एमसिसीको नाममा अमेरिकी साम्राज्यवाद सेना ल्याएर नेपाल आउदैछ त्यसलाई रोकेर यो देशलाइ युक्रेन बन्नबाट जोगाउने ऐतिहासिक जिम्मेवारी नेकपाको काँधमा आएको छ । अमेरिका जहाँ-जहाँ पुगेको छ त्यहा भयावह युद्ध भएको छ। अहिले रुस-युक्रेन युद्धपनि अमेरिकाको कारणले भएको स्पष्ट छ । हामी अमेरिकाले सोचेको अतिक्रमणकारी सपना नेपालमा सफल हुन दिनेछैनौ।’

नेता शितलले राष्ट्रिय राजनीतिक परिस्थिति इतिहासको नविन ठाउमा पुगेको समेत बताए । उनले थप भने, ‘अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बद्लिएको छ । नयाँ दुश्मनहरु खडा भएका छन् भने पार्टीका नयाँ मित्रहरु पनि थपिएका छन् ।’

जनमत र जनमुक्ति सेना दुबै आवश्यक छन् , उनले फेरि भने,‘जनमत र जनमुक्ति सेनाको फ्युजन नगरी क्रान्ती हुँदैन । अहिलेको परिस्थितिमा समाजवादी क्रान्ती जित्ने हो भने बलद्वारा मात्रै नवीन बुद्धिद्वारा पनि जित्न सक्नुपर्छ । जनताले नयाँ विकल्प खोजेका छन् त्यो समाजवाद हो भनेर जनतालाइ स्पष्ट बुझाउन सक्नुपर्छ ।’

नेता शितलले एमसिसीको प्रसंगमा बोल्दै कुनैपनि बिदेशी सहयोगलाई स्वागत गर्ने तर सहयोगको नाममा बिदेशी हस्तक्षेपका विरुद्ध पार्टीले शसक्त संघर्ष गर्ने समेत बताए ।

नेपालको संसदीय व्यवस्था असफल भएपछि समाजवादी मोर्चा बनेको हो , उनले थपे,‘यो सत्ता सबैभन्दा भ्रष्ट छ । यो सत्ता माफियाको सत्ता हो । यो नेपाली जनताको सत्ता होइन । यसलाइ बहुसंख्यक नेपाली जनताले स्वीकार गरेका छैनन् । दलाल पुजीवादी सत्ता असफल भएपछी र साम्राज्यवादको हस्तक्षेपका विरुद्ध समाजवादि मोर्चा बनाएका छौँ ।’

नेता शितलले अमेरिकाको एजेन्ट बनेर रवीहरु आएको र अर्कोतिर राजावादीहरु सल्बलाएको हुनाले कुनै हालतमा यी दुई शक्तिलाइ रोक्नुपर्ने समेत बताए । अमेरिकी साम्राज्यवाद र नेपाली जनताबिचको अन्तरबिरोध मुख्य बन्न गएको समेत नेता शितलको भनाई थियो ।

नेकपा पश्चिम दाङको पाचौं बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरोका इन्चार्ज सविन सीले नेपालको सबैभन्दा अग्रगामी र क्रान्तिकारी शक्ति नेकपा भएको बताए ।

बैठकका अतिथी समेत रहेका नेता सविनले भने– ‘हाम्रो पार्टी यो देशको सबैभन्दा अग्रगामी र क्रान्तिकारी शक्ति हो । हामीले आत्मनिर्भर अर्थतन्त्रको विकास गरेका छौँ । हामिले पुरानो जातीको विकल्पमा नयाँ कम्युनिस्ट साम्यवादी जाती सी जाती बनाएका छौँ । हामिले नेपाली जनताको नयाँ राजनीतिक विकल्पको रुपमा समाजवादी कार्यक्रम अगाडि बढाएका छौँ । हामी यो देशको वैकल्पिक शक्ति हौं।’

नेता सविनले पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत दलाल पुजीवाद र साम्राज्यवादलाई जित्नेगरी सोचेको समेत बताए । समाजवादी मोर्चा नेपाली बिशेषताको समाजवाद स्थापनाका लागि बनाइएको समेत उनको भनाइ थियो ।

यस्तै पार्टीको पाचौं बैठकमा बोल्दै बैठकका अतिथि नेकपाका केन्द्रीय सदस्य एवम पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले राष्ट्रिय स्वाधीनताको रक्षा र जनताले खोजेको नयाँ राजनीतिक विकल्पका लागि पार्टीको पहलमा समाजवादी मोर्चा बनेको समेत बताए ।

सोमबार तुलसीपुरमा सम्पन्न नेकपा पश्चिम दाङको पाचौं बैठकले दोस्रो ६ महिने आवधिक योजना अन्तर्गत एमसिसी विरुद्ध जिल्लाव्यापी संघर्ष गर्ने, लघुवित्तिय पिडितहरुको संगठन निर्माण गर्ने, मानव तस्कर दलाल र मिटरब्याजका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्लामा पुर्व जनमुक्ति सेनाको भेला गर्ने, जिल्लामा नमुना कार्य गर्ने, पार्टीको ब्युरो समितिले चौमासिक पत्रीका प्रकाशित गर्ने, पार्टीको कृषि उत्पादनलाई आधुनिकरणका लागि कृषि यन्त्र खरिद गर्ने, सी संस्कृति अनुरुप असोज २५ गतेभित्र दिवंगतहरुको सम्झनामा स्मृती कार्यक्रम गर्ने, पार्टीको आय/व्यय व्यवस्थित गर्ने, पार्टीको उत्पादनलाई वृद्धि गर्ने, पार्टीको लेबीलाइ अनुशासनको रुपमा व्यवस्थित गर्ने, सरकारी अस्पतालमा हेल्प डेस्क राख्ने, सामाजिक विभेद विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा राजनीतिक अन्तर्क्रीया कार्यक्रम गर्ने, जवस/मोर्चाका भेला सम्मेलनहरु सम्पन्न गर्ने, राजनीतिक प्रशिक्षण कार्यक्रम गर्ने, समाजवादी मोर्चा घटक दलसंग छलफल गर्ने, सबै तहका नेता-कार्यकर्ताहरु स्कुलिङ एवम प्रशिक्षण कार्यक्रममा सहभागी हुने, पेशागत संगठनहरु निर्माण गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको हो ।

नेकपा पश्चिम दाङका सचिव निर्मल सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकको प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य शितल सी, पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज प्रदिप सी, नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी, युवा संगठन नेपालका केन्द्रीय महासचिव तिलक सीको आतिथ्य रहेको थियो ।

४ भाद्र २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको