विद्युत जडान ढिलो गर्दा माडी १ का जनता आन्दोलित, मिटर नजोडेरै बिल काटियो


चैत २५, घर्तिगाउँ । नेपाल विद्युत प्राधिकरण रोल्पाले विद्युत जडान गर्न ढिला गरेको भन्दै माडी १ का जनता आन्दोलित भएका छन ।

विद्युत प्राधिकरण रोल्पाले मिटर वितरण गरिसक्दा समेत माडी गाउँपालिका वडा नम्बर १ को बल्ले, पात्ले, जयलखसे, भिरमुनी, झिनुवा र भित्रीखोलाला जनताको घरमा जडान नगरेपछि जनता आक्रोशित हुँदै आन्दोलित भएका हुन ।

शनिवार माडी १ को बल्लेमा आमभेला गरी यस विषयमा माथिल्लो निकायमा छलफल गर्ने र त्यसपछि पनि कुनै सुनुवाइ नभएमा अझ सशक्त आन्दोलनमा जाने निर्णय भएको माडी १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगरले जानकारी दिए ।

माडी १ मा विद्युत प्राधिकरण रोल्पाले हालसम्म करिव १८० मिटर वितरण गरेको तर करिव ६० घरमा मात्र मिटर जडान गरेको छ भने करिब १२० घरमा जडान गरेको छैन । मिटर जडान नभएपनि बिल काटेपछि स्थानीयले आन्दोलन गर्नु परेको बताएका थिए ।

उक्त क्षेत्रमा निर्माण कम्पनी वेस्टर्न डेभलपमेन्टले काम गरिरहेको छ भने केहि क्षेत्रमा काम ढिलाइ भएको प्रति पनि स्थानीयले आक्रोश पोखेका थिए । यस विषयमा विद्युत प्राधिकरण रोल्पाका कार्यालय प्रमुख अखलेश्वर शाहसँग बुझ्दा आफु कार्यालय प्रमुखको रुपमा भर्खरै आएको भन्दै यस विषयमा जानकारी नभएको र भर्खर मात्रै थाहा भएको बताए । यदि त्यसो भएको भए गलत भएको उनको भनाई छ ।

उक्त क्षेत्रमा भएको सत्यतथ्यलाइ बुझेर आफुले आवश्यक काम अगाडी बढाउने र कार्यालयमै आएर सम्बन्धित कर्मचारीसँग छलफल गराउन आफु तयार भएको बताउदै कार्यालयमा छलफलका लागि आह्वान समेत गरेका छन । ठेक्काका विषयमा निर्माण कम्पनी वेस्टर्न डेभलपमेन्टका प्रतिनिधि करन रानासँग बुझ्दा आफुहरुले काम गरिरहेको जानकारी दिए ।

२५ चैत्र २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको