छत्रेश्वरी गाउँपालिकामा विद्यालय सुधार र गुणस्तर वृद्धिका लागि समिक्षा


साउन १९, सल्यान । बिद्यालय सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि सल्यानमा समिक्षा संगै आगामी योजनाका बारे छलफल गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा शिक्षा क्षेत्र सुधारका लागि बृहत छलफल, अन्तरक्रिया र योजना प्रस्तुत भएको हो ।

चालू आर्थिक बर्षको पहिलो प्रधानाध्यापक बैठकमा छत्रेश्वरी गाउँपालिकाको सातवटै वडामा रहेका विद्यालयको अवस्था र संचालन भएका शैक्षिक गतिविधिको बारे शुक्रबार प्रस्तुतीकरण गरिएको शिक्षा शाखाले जानकारी दिएको छ । सामुदायिक र संस्थागत गरेर हाल ४३ वटा विद्यालय संचालनमा रहेको छत्रेश्वरिमा सबै बिद्यालयले “बिद्यालय सुधार र विकास योजना” निर्माण गरेर गुणस्तर वृद्धिका लागि अघि बढेको शिक्षा शाखा प्रमुख केशर बहादुर वलीले जानकारी दिए । धेरै जसो विद्यालयले योजना बनाइसकेको र बांकी बिद्यालयलाइ एक हप्ता भित्र योजना बनाउन गाउँपालिकाले निर्देशन दिएको छ ।

बैठकमा सम्बन्धित वडाका नेतृत्वकर्ता विद्यालयले आ–आफ्नो वडामा रहेका विद्यालयका शैक्षिक गतिविधिबारे अवगत गराएका थिए । वडा नम्बर १ को तर्फबाट भानुभक्त मावी दमाचौरका प्रअ खुमानन्द केसी, वडा नम्बर २ को तर्फबाट जनता माबि बुरासेका प्रअ लालसिंह वलीले प्रस्तुतीकरण गर्दै विगतको तुलनामा सिकाइ उपलब्धि वृद्धि भैरहेको पाइएको र एक शिक्षक एक ल्यापटपको व्यवस्थापन संगै शिक्षकलाइ कार्यसम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालनको योजना सुनाएका थिए ।

यस्तै वडा नम्बर ३ को तर्फबाट जानकी माबि दोहलिका प्रअ उत्तर कुमार केसी, वडा नम्बर ४ को तर्फबाट कृष्ण माबि पोखरिडांडाका प्रअ युवराज केसी, वडा नम्बर ५ को तर्फबाट त्रिभुवन जन माबि लेखचोरपानीका प्रअ घनश्याम वली, वडा नम्बर ६ को तर्फबाट शारदा माबि शंखमुलका प्रअ जित बहादुर भण्डारी र वडा नम्बर ७ को तर्फबाट नवदुर्गा आवि जिताथानका प्रअ कमल वस्नेतले विद्यालयका शैक्षिक गतिविधी प्रस्तुत गरेका थिए ।

प्रअहरुले प्रस्तुत गरेको गतिविधी अनुसार कतिपय विद्यालयमा विद्यार्थि संख्या घट्दो क्रममा रहेको पाइएको छ भने बिद्यालयहरुले शैक्षिक अवस्था सुधारका लागि नियमित रुपमा शिक्षक–कर्मचारी बैठक बस्ने गरेको छ । पालिका प्रमुख तथा शिक्षा शाखाले विद्यार्थी अभिभावक संग प्रत्येक्ष साक्षात्कार गर्नुपर्ने सुझाव बैठकमा दिइएको थियो । कतिपय बिद्यालयमा पालैपालो शिक्षकहरुले बिद्यालयका गतिविधिका बारे साप्ताहिक प्रतिवेदन तयार गरि हरेक शुक्रबार पेश गर्ने कामको सुरुवात गरेका छन् भने केही बिद्यालयमा शिक्षकको नियमितताको लागि लगबुक भर्ने गरिएको बैठकमा प्रधानाध्यापकहरुले अवगत गराए । हरेक शिक्षक कक्षा कोठामा कतिबजे आएको र कुन समयमा गएको भनेर विद्यार्थीले नै लगबुक भर्नेगरेका छन् ।

बैठकमा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिद्यालय शिक्षाको व्यवस्थापनमा प्रधानाध्यापकको महत्वपुर्ण भुमिका हुने बताए । शिक्षा क्षेत्र अति संवेदनशील रहेको भन्दै उनले यो क्षेत्रको सुधार र विकासको लागि शिक्षक, अभिभावक तथा सरोकारवाला पक्षसंग हातेमालो गर्दै अघि बढ्ने बताए । यस्तै प्रमुख प्रशासकिय अधिकृत गुरु प्रसाद योगीले प्रधानाध्यापक कुशल र असल प्रशाशक बन्नुपर्नेमा जोड दिदै शैक्षिक गुणस्तर अभिवृद्धि हुने कृयाकलापमा केन्द्रित रही कार्यक्रम निर्माण गर्नुपर्ने बताए । बैठकमा ३९ वटा बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा प्रास शिवसिंह पुनले जानकारी दिए ।

 

१९ श्रावण २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको