सवारी ज्यान मुद्दामा पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना


चैत ८, काठमाडौं । अदालतले बुढानिलकण्ठ दुर्घटना प्रकरणमा सवारी ज्यानमुद्दा लागेका पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार जरिवाना सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीन सूर्यप्रसाद अधिकारीको इजलासले मल्ललाई कैद र जरिवानाको फैसला सुनाएको सूचना अधिकारी दीपक दाहालले बताए।

लापरबाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएका कारण मल्ललाई अदालतले कैद सजाय र जरिवानाको फैसला गरेको दाहालले बताए।

सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो। तर सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।

मल्ल यसअघि नै सात महिना कारागार बसिसकेका थिए। २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो।

त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमै मल्लले मादकपदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो।

उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए। चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादकपदार्थ सेवन गरेको उल्लेख थियो।

प्रहरीले आफ्नो प्रतिवेदनमै मल्लले ‘मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले चलाएको कारले देवकोटालाई ठक्कर दिएको’ उल्लेख गरेको थियो।

८ चैत्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको