दाङमा छुट्टाछुट्टै बस दुर्घटना हुँदा २० जना घाइते [नामसहित]


भदौ १९, दाङ । दाङमा छुट्टा–छुट्टै यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बर बस तुलसीपुर ७ हात्तिखौवामा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनाको अवस्था सामान्य रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । मध्यम घाइते भएका ११ जना मध्ये दाङ लमही नगरपालिका १ का २१ वर्षीया बसन्ता पुसाल, तुलसीपुर ८ की ५३ वर्षीया इन्दिरा काफ्ले, वडा नम्बवर ६ बस्ने ५२ वर्षीया सुमित्रा कँडेल, तुलसीपुर ९ बस्ने वर्ष ७० का तिलकराम खत्री रहेका छन् ।

यस्तै तुलसीपुर–११ बस्ने ४२ वर्षीय लोकबहादुर गिरी, १७ बस्ने २५ वर्षीय शंकर विक (बस चालक), १८ बस्ने २६ वर्षीया हुमाकुमारी बुढामगर, १२ बस्ने ५२ वर्षीया डिला केसी, १४ बस्ने २८ वर्षीया प्रतिज्ञा बस्नेत, तुलसीपुर ११ बस्ने वर्ष २८ कै कल्पना केसी र घोराही १६ बस्ने वर्ष ३० की सुरक्षा रिजाल घाइते भएका छन् । सामान्य घाइते भएका ७ जनासँगै सबैको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरको हात्तिखौवामा दिउँसो ४ बजे र घोराही मसोट नजिकै दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको थियो । दुवै बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

यस्तै तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ८९२० नम्बरको बस घोराही ३ मसोट नजिकै दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दुई जना घाइते मध्ये बसका सह-चालक राप्ती गाउँपालिका ४ बस्ने ४२ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएका छन् ।

उनको बायाँ खुट्टा घुँडादेखि चुँडिएको छ भने दाहिने हातमा चोट लागेको छ । यस्तै राप्ती गाउँपालिका ६ बस्ने ३५ वर्षीया श्यामकुमारी चौधरी सामान्य घाइते भएकी छन् । उनीहरुको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

 

१९ भाद्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको