के नेपालमा नयाँ प्रजातिको कोरोना पत्ता लगाउन सहज छ ?


माघ ६, काठमाडौँ । नेपालमा तीनजनामा कोरोना भाइरसको यूके भेरिएन्ट (बी.१.१.७) भेटिएको औपचारिक रुपमा पुष्टि भएपनि जनस्तरमा यसको परीक्षणका लागि यथोचित तयारी भने गरिएको छैन । पुसको पहिलो साता बेलायतबाट फर्किएका तीन जनामा बी.१.१.७ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि उनीहरुबाट लिइएका स्वाब नमुना हङकङ पठाउनु परेको थियो ।

सामान्य रुपमा यो नयाँ भेरिएन्ट पत्ता लगाउन कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको पीसीआर परीक्षण गर्दा भाइरसका अन्य जीनका साथै मुख्य रुपमा एस–जिनलाई पनि लक्षित गरेर परीक्षण गर्न आवश्यक हुन्छ । यदी अन्य जीन पोजिटिभ तर एस–जीन निगेटिभ देखिएमा भने बी.१.१.७ भेरिएन्ट भएको आशंका गरिन्छ । यसको पुष्टि नै गर्नका लागि भने जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ ।

बेलायतबाट फर्किएका ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरूको नमुनामा एस–जीनलाई लक्षित गरी एनपीएचएलमा पीसीआर परीक्षण गरिएको थियो । सो परीक्षणमा ३ जनाको नमुनामा एस–जीन निगेटिभ रहेको पाइएको थियो । त्यसपछि भने ३ जनामा यूके भेरिएन्ट हुनसक्ने आशंका गर्दै नमुना हङकङ पठाउने तारतम्य मिलाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएको ३ वटै नमुना अनुवांशिक परिवर्तन देखिएको कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्ट देखिएको जानकारी गराएको हो । विज्ञप्ती अनुसार पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट माघ ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को ईमेलमा प्राप्त भएको हो ।

के नेपालमा परीक्षण सम्भव छ ?

नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा एस–जीनलाई लक्षित गरी परीक्षण गर्न सम्भव नभएको भने होइन । तर, आजको दिनमा यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै सम्भव छ । हाल देशभरमा गरेर कूल ८२ प्रयोगशालाहरुमा कोरोना भाइरसको पीसीआर परीक्षण हुने भएपनि सम्भवतः एनपीएचएलमा मात्रै यो सुविधा उपलब्ध छ ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झा भने यूके भेरिएन्ट नेपालमा भेटिए पनि आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्छिन् । उनका अनुसार एनपीएचएलमा कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्टहरुमा एस–जीन परीक्षण गर्ने रिएजेन्ट पनि रहेकोले परीक्षण सम्भव भएको थियो । ‘हामीले परीक्षण गर्दा ३ वटा जिन डिटेक्ट गर्ने रिएजेन्ट प्रयोग गरिराखेको हो । सामान्तया कोभिड पोजिटिभमा ३ वटै जीन नेगेटिभ/पोजिटिभ आउँछ,’ उनले भनिन्, ‘एस–जिन नेगेटिभ आएपछि जिन स्क्वेन्सिङ गर्दा नयाँ भेरिएन्ट भेटिएको हो । भाइरसमा अनुवांशिक परिवर्तन भएकोले रिएजेन्टले जिन डिटेक्ट नगरेको हो ।’

उनका अनुसार एस–जिन परीक्षण गर्ने भनेर अतालिनु पर्दैन । ‘युके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, नेपाली भेरिएन्ट सबै छ होला । पत्ता लागेर के हुन्छ ? जुनसुकै नयाँ भेरिएन्ट आएपनि आखिर हामीले अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड भनेको हात धुने, मास्क लगाउने, दुरी कायम गर्ने नै हुन्,’ उनले भनिन्, ‘यो आरएनए भाइरस हो । यसमा अनुवांशिक परिवर्तन भइरहन्छ । यो कुरामा धेरै टाउको दुखाइ भएन । सावधानी अपनाउनुपर्‍यो ।’

डा. झाका अनुसार नेपालमा विश्वका सबै ठाउँबाट मानिसहरु आइरहेकाले सबै स्थानका भाइरस घुलमिल भइराखेको हुनसक्छ । त्यसको चिकित्सकीय रुपमा संक्रमित पहिचान गर्न खासै कुनै भूमिका पनि नदेखिएको उनले बताइन् । ‘जे सावधानी लिनुपर्छ त्यही त हो अपनाउनुपर्ने । यो त थप बढी जान्नका लागि मात्र परीक्षण गरिएको हो । जिनोम सिक्वेन्सिङ सधैं गरिरहनुपर्ने परीक्षण पनि होइन,’ उनले भनिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा त्यहाँ ई–जिन, आरडीआरपी–जिन, एन–जीन, ओआरएफ१–जिन, एस–जिनलाई लक्षित गरी परीक्षण गर्ने गरिन्छ । ‘अब यो नयाँ प्रजातिको भाइरस कस्तो छ भने अरु जिन पोजिटिभ आउँछ तर एस जिन चाहिँ नेगेटिभ आउने रहेछ । यूकेबाट आएकामा धेरै जनामा एस जिन पोजिटिभ आएपनि ३ जनामा एस जिन नेगेटिभ आएको थियो,’ उनले भने ।

नाम उल्लेख नगर्ने सर्तमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नजिक रहेर काम गरिरहेका एक विज्ञका अनुसार नेपालमा हाललाई एनपीएचएल बाहेक अन्य प्रयोगशालामा एस–जिनको परीक्षण सुरु गर्नका लागि कठिन छ । उनका अनुसार एस–जीन परीक्षण गर्नका लागि अहिले पीसीआर परीक्षण गर्नका लागि प्रयोग भइरहेका सबै मेसिनमा सम्भव नै छैन । ‘प्राय सबैले एस–जीनको रिएजेन्ट प्राप्त भए परीक्षण गर्न मिल्न भनेर सोचेका छन् । तर, त्यो त्यति सजिलो छैन । एस–जीन परीक्षण गर्ने मेसिन र रिएजेन्ट दुवै फरक छन् ।’ कान्तिपुर दैनिकमा बुनु थारुले खबर लेखेकी छन् ।

६ माघ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको