कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

फाइल तस्बीर

साउन ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ ।

‘जलस्रोत कम्पनीको शेयर मुल्य अहिले नै प्रत्यक्ष नबढे पनि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण भैरहेको छ र आगामी दिनमा पनि हुने संकेत देखिएको छ,’ उनले अन्नपूर्णसँग भने,‘यसको शेयर मुल्य आधारभुत हिसावले बढ्नुमा उहाँ आए पनि नआए पनि फरक पर्दैन । तर उहाँले पहिला ऊर्जा क्षेत्रमा दिनुभएको योगदान र अहिले गर्नसक्ने क्षमतालाई आंकलन गरेर बजारमा यसलाई सकारात्मक रुपमा लिएकाले आम लगानीकर्ता खुसी भएका हुन् ।’

विद्युत क्षेत्रलाई राम्रोसँग बुझेको र आम नागरिकको नजरमा बसिसकेकाले पूँजी बजारमा पनि उनको आगमनले सकारात्मक प्रभाव पन नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् ।

कुलमानको आगमनले जलस्रोत लगानीकर्ताहरुलाई थप ऊर्जा थपेको छ । तर पूँजी बजार बढ्नमा सबै उनको मात्रै योगदान नभएको लगानीकर्ताको बुझाइ छ । किनभने यसअघिको कार्यकालमा नेपालको उत्पादित विद्युत भारतमा विक्री गर्ने अवधारणा घिसिङले ल्याएका थिए । त्यतिबेला विहार वोर्डसँग सम्झौता पनि गरिएको थियो । यसले गर्दा कतिपय खेर जानसक्ने सम्भावना भएका ऊर्जाहरु भारतमा सप्लाई गर्न सफल हुने लगानीकर्ताले आशा गरेका छन् । जसले गर्दा पूँजीबजारमा पनि यस क्षेत्रको कारोबार राम्रो हुने अपेक्षा गरिएको हो ।

यसवाहेक यसअघिको कार्यकालमा कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी जस्ता जलस्रोत कम्पनीमा चासो देखाएका थिए । यसमा कम्पनीको आफ्नो लगानी (ईक्विटी) र बैंकबाट लिन पाउने कर्जा बीचमा धेरै खाडल भएको औंल्याएका थिए ।

कम्पनीहरुले हाल करिब ३० प्रतिशत ईक्विटी र ७० प्रतिशत बैंकबाट कर्जा लिएर लगानी गरिरहेको अवस्था छ । तर यस्ता कम्पनीको ईक्विटी र कर्जाको अनुपात ५०/५० प्रतिशत गर्नु पर्नेमा उनले जोड दिँदै आएका थिए । यसरी कर्जालाई केही घटाउने बित्तिकै कम्पनीको खर्च घट्छ । यस्तो खर्च कम हुँदा लगानीकर्तालाई फाइदा हुन जाने शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष अर्याल बताउँछन् । यस्ता समग्र कारणले पनि जलस्रोतमा लगानी गर्नेहरु उत्साही भएको उनको भनाइ छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)का उपाध्यक्ष आशीष गर्र प्राधिकरणका कार्यकारी निर्देशक फेरिँदैमा यसले बजारमा प्रभाव खासै नपर्ने बताउँछन् । सरकारको नेतृत्व परिवर्तन भएर बजारमा प्रभाव पारे जस्तो प्राधिकरणको कार्यकारी निर्देशक आउँदैएर परिवर्तन नहुने उनको तर्क छ ।

‘उहाँले लोडसेडिङ हटाउनमा भूमिका खेलेको छाप आम जनमानसमा छ । यो राम्रो पक्ष हो ,’ उनले भने,‘ तर उहाँ आएलगत्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत जलस्रोत कम्पनीहरुको शेयर मुल्य वृद्धिमा खासै फरक परेको छैन ।’

यद्यपि गत बुधबार कार्यकारी निर्देशक घिसिङले पदबहालीपछि विद्युत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । दोस्रो इनिङ स्वीकार गरेर उनले प्राधिकरणलाई अगाडि बढाउनुपर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताएका थिए । उनले अनियमिताबारे गुनासा आएको र सुशासन तथा गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने विश्वास समेत दिलाएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

३० श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको