कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस

फाइल तस्बीर

साउन २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमार्फत भनेका छन् ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।

तर पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।

परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

२२ श्रावण २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको