प्रचण्ड–माधव बाहिरिएपछि पार्टी झन् बलियो हुन्छः ईश्वर पोखरेल

फाइल तस्बिर

पुस २०, सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

उनले प्रचण्ड र माधव नेपाललगायत गलत प्रवृत्ति भएका व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि पार्टी थप मजबुत भई एकढिक्का भएर अगाडि बढ्ने दावी गरे ।

नेकपा ओली समूहले सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताए ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए ।

भौतिक पूर्वाधारको विकास बिना मुलुकको विकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यही सरकारको पालामा ती कार्य पूरा हुने दाबी गरे ।

सो अवसरमा शहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै आगामी वैशाखमा हुने निर्वाचनले नै मुलुुकलाई निकास दिने बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेका नेता देशीविदेशी शक्तिको इसारामा प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए ।

२० पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको