सरकार र विप्लव नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

फाइल तस्बिर

फागुन १९, काठमाडौं । सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।

आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेका छन्। सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेका छन्।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

दुवै पक्षले वार्ताको स्थानबारे भने कुनै जानकारी दिएका छैनन् । मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो।

बुधबार सरकारले वार्ता टोली गठन गरेको एक घण्टापछि विप्लव पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको थियो। उक्त पार्टीले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’सम्मिलित वार्ता टोली गठन गरेको हो।

दुवै वार्ता टोलीको नेतृत्वकर्ता पाँच वर्षअघिसम्म एकै पार्टीमा थिए। यसले पनि यो वार्तालाई रोचक मोडका साथ हेरिएको छ। विप्लवको वार्ता टोलीले मंगलबार साँझ टेलिफोनमार्फत सरकारी टोलीसँग अनौपचारिक संवाद गरेपश्चात आज वार्तामा सहभागी भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

१९ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको