विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्छौं: सरकारका प्रवक्ता


फागुन १८, काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव नेकपा शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे । मन्त्री गुरुङले नेपाल सरकार र विप्लव नेकपाबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव नेकपाबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुने छ भन्ने हामी विश्वास व्यक्त गर्दछौं,’ मन्त्री गुरुङले भने । उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए ।

विप्लव नेक्कपा माथिको प्रतिबन्ध फुकुवा र उनीहरुको हतियार व्यवस्थापनबारे सोधिएको प्रश्नमा मन्त्री गुरुङले ती सबै विषय वार्ताबाटै टुंगिने बताए । ‘उहाँहरुप्रति लागेका मुद्दाहरु, उहाँहरुका हतियारको कुरा, यी सबैको प्रक्रिया टुंगोमा पुर्याउनका निम्ति नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ, मन्त्री गुरुङले भने ।

 

१८ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको