दलको विवादमा राजदूतको दौडधुप किन ?

फाइल तस्बिर

पुस १०, काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चिनियाँ चासो बढेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन् । भेटमा दाहाल र राजदूत होउबीच साझा चासोका विषयमा छलफल भएको चिनियाँ राजदूतावासका तृतीय सचिव याङ सीले कान्तिपुरलाई बताए । मंगलबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।

गत वैशाख, असार र मंसिरमा सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन उनले ‘सहजीकरण’ गरेकी थिइन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न राजदूत होउको सक्रियता बढेको हो ।

पूर्वप्रधानमन्त्री तथा राज्यका उच्च अंगमा रहेका पदाधिकारीले भेटवार्ता गर्दा कूटनीतिक आचारसंहिताअनुसार परराष्ट्र मन्त्रालयलाई थाहा दिनुपर्ने र भेटवार्तामा परराष्ट्रका प्रतिनिधि अनिवार्य हुनुपर्ने उल्लेख छ । तर राष्ट्रपति भण्डारी र दाहालसँग चिनियाँ राजदूत होउबीच भेटवार्ता हुँदा परराष्ट्रका कुनै पनि प्रतिनिधिको सहभागिता नरहेको मन्त्रालयका एक उच्च पदाधिकारीले बताए ।

कूटनीतिक विज्ञ प्राध्यापक श्रीधर खत्रीले चिनियाँ राजदूत होउले यस पटक क्रिसमस र नयाँ वर्षको शुभकामना दिन गएको नभनेकामा अचम्म माने । उनले भने, ‘यसअघि मंसिरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेकपाका अध्यक्षसँग भेटवार्ता गर्दा दसैंको शुभकामना दिन गएको भनेकी थिइन् ।’ राजदूत होउको पछिल्लो भेटघाटले चिनियाँहरू नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई पहिलेको भन्दा पनि अझ बढी चासोको साथ लिएको बुझ्न सकिने खत्रीले बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीले कूटनीतिक मर्यादालाई लागू गरेको छ वा छैन भन्ने महत्त्वपूर्ण कुरा हो ।’

तीन वर्षअघि तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चलिरहँदा पनि राजदूत होउको चासो बढेको थियो । उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र नेताहरूलाई पटक–पटक भेटेर नेकपाभित्रको विवाद मिलाउने ‘प्रयास’ गरेकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

१० पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको