‘खाद्य वस्तु, औषधि र खाना पकाउने ग्यास पसललाई ‘लकडाउन’ छैन’

फाइल तस्बीर

चैत ११, काठमाडौ । काेराेना भाइरस (कोभिड- १९)को संक्रमण फैलने सम्भावना देखिएको भन्दै सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मंगलबार बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजे सम्म लागू हुने गरी लकडाउन गरेको छ।

यो अवधिसम्म सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन भनेको छ। तर, दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले खाद्यवस्तु (तरकारी, फलफूल, दूध, पानी समेत), औषधि र औषधिजन्य पदार्थ तथा खाना पकाउने ग्यास बिक्री वितरण हुने पसल तथा बिक्री कक्षहरु नियमित सञ्चालन गर्ने जनाएको छ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ती जारी गर्दै यी पसल खुला राख्नुपर्ने र त्यहाँ काम गर्ने व्यक्तिले अनिवार्य रूपमा मास्क लगाउने र समयसमयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था मिलाउन आग्रह गरेको छ।

यो अवधिमा सरकारले आफू मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित पसलहरु पनि यथावत् सञ्चालन गर्नेछ। आवश्यकता अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट मोबाइल भ्यानहरुले खाद्यवस्तु बोकी घुम्ती पसलसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्री वितरण गर्ने ठूला बिक्रेता (भाटभटेनी सुपरमार्केट, बिग मार्ट, सेलवेज, सेल्सबेरी)हरुले आफ्नो बिक्री कक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकहरुलाई उनीहरुकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ। पसलहरुमा भीड हुन नदिई बिक्री वितरण गर्ने र ग्राहकहरु स्वयं सजग भई कम्तिमा एक मिटरको दूरीमा लाइनमा बसी किनमेल गर्न भनिएको छ।

त्यस्तै यो अवधिमा उपभोग्य सामाग्री (औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा औषधि र खाद्यवस्तुका कच्चापदार्थ) र पेट्रोलियम पदार्थ (खाना पकाउने ग्यास समेत) ढुवानी गर्ने यातायातका साधन यथावत् रुपमा सञ्चालन हुनेछन।

ढुवानीकर्ता एवं बिक्रेता तथा वितरकले ढुवानी मजदुरको व्यवस्था गर्नुपर्ने र ती सबै मजदुरहरुका लागि अनिवार्य रूपमा मास्कको व्यवस्था गर्नुपर्ने पनि मन्त्रालयले विज्ञप्तीमार्फत् जनाएको छ। प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अति आवश्यक स्थानमा सीमित संख्यामा पेट्रोल पम्पहरु सञ्चालन मै रहनेछन्।

११ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको