नेपालमा कहिले आइपुग्ला कोरोना खोप ?

फाइल तस्बिर

पुस २, काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन । जसकारण कुन देशले उत्पादन गरेको भ्याक्सिन ल्याउने भन्ने अझै निर्णय हुन सकेको छैन । अहिलेसम्म विभिन्न देशले उत्पादन गरेको भ्याक्सिन ट्रायलका क्रममा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिन ल्याउन प्राथमिकताका आधारहरू तय गरिएका छन् । सरकारले सुरक्षित, लाइसेन्स प्राप्त, भौतिक संरचना, पूर्वाधारसँग मिल्ने र कम मूल्यलाई आधार मानेर भ्याक्सिन आयात गर्ने तयारी गरेको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालीन प्रयोगका लागि फाइजर भ्याक्सिनले स्वीकृति पाएको छ । अहिलेसम्म फाइजर भ्याक्सिनले मात्रै बेलायत, बहराइन र अमेरिकामा मात्रै आम मानिसमा प्रयोगका लागि सिफारिस भएको छ । फाइजरले बनाएको भ्याक्सिन माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकाले यसका लागि आवश्यक भण्डारण पूर्वाधार नेपालसँग नभएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजकसमेत रहेका खोप विज्ञ डा. श्यामराज उप्रेतीले बताए ।

खोप विज्ञ डा. उप्रेतीका अनुसार लाइसेन्स प्राप्त भ्याक्सिन मात्रै प्रयोग गर्न मिल्ने बताए । उनले भने, ‘नेपालमा ल्याइने भ्याक्सिन भनेको लाइसेन्स प्राप्त भ्याक्सिन नै हो । लाइसेन्स प्राप्त भ्याक्सिन नल्याउनु भनेको फेरि क्लिनिकल ट्रायल गर्नु हो ।’ भ्याक्सिन उत्पादन भएको देशको सम्बन्धित नियमनकारी सरकारी निकायले लाइसेन्स दिने व्यवस्था छ । डा. उप्रेतीले भने, ‘भ्याक्सिन भण्डारणको आँकलन गरिसकेका छौं । २ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने अहिले भएको कोल्ड चेनले नै पुग्छ, माइनस २० डिग्रीमा राख्नुपर्ने भ्याक्सिन आए केही संरचना थप्नुपर्ने हुन्छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

२ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको