कोरोनाविरुद्द विप्लवले गरे ६ बुँदे प्रतिबद्धता, दिए १६ बुँदे सुझाव [विज्ञप्तीसहित]

फाइल तस्बीर

चैत २२, काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन्।

‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो ।’

प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको भन्दै विप्लवले संक्रमणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् । विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकमा कमिसनखोरी गरिएको विप्लवको दावी छ ।

विप्लवले कोरोना महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकार असफल हुनुका साथै जनताको दृष्टिमा भ्रष्ट र बदनाम हुन पुगेको समेत बताएका छन् । यस्तो अवस्थामा राज्य संयन्त्रले इमान्दार भएर कोरोना नियन्त्रण र निर्मूल पार्नका लागि विशेष पहलकदमी लिनुपर्नेमा विप्लवले जोड दिएका छन् ।

उनले सरकारले परीक्षणको सुविधा गाउँगाउँसम्म पुर्याउनुपर्ने, कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणले बुझ्नेगरी प्रचारप्रसार गर्नुपर्ने, श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था गर्नुपर्ने, विदेशमा रहेर नेपाल फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउनुपर्ने, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रबन्ध गरिनुपर्ने, सीमामा फसेका नागरिकलाई स्वदेश फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने, नेपाल भारत सीमा विदेशीका लागि पूर्णरुपले बन्दगर्नुपर्ने लगायतका १४ बुँदे सुझाव सरकारलाई दिएका छन् ।

यस्तै कोरोना भाइरसविरुद्धको संघर्षमा पार्टीले खेल्ने भूमिकाबारे पनि ६ बुँदामा उल्लेख गरेका छन् ।

हेर्नुस १४ बुँदे सुझाव र पार्टीले खेल्ने भूमिकाका ६ बुँदा

१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ । सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।

२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।

३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।

४) अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।

५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।

६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।

७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।

८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।

९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।

१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।

११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ । त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।

१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।

१३) कोरोनाको निहँुमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।

१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निक्र्योल गरेर मात्र आयात गर्नुपर्छ ।

१५) नेपाल–भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।

१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।

६ बुँदे प्रतिबद्धता

१) कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ ।

२) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।

३) पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पु¥याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।

४) भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।

५) कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँँजीवादी सरकारको भण्डाफोर गर्नेछ ।

६) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बावजुत जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौँ ।

हेर्नुस विज्ञप्ति 

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको