ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको छैन


चैत २०, काठमाडौँ ।

कोरोना भाइरस नियन्त्रणको सम्बन्धमा सरकारले गरेको तयारीको विषयमा केही प्रश्न उठेका छन् । लामो समयको प्रतीक्षापछि औषधि र उपकरण ल्याउन सरकारले एउटा कम्पनीलाई ठेक्का दिएको थियो, तर अचानक आज त्यो पनि रद्द भएको छ । यसले गर्दा हामी ‘मिडल अफ नो ह्वेर’को अवस्थामा छौँ । अब सरकारको कदम के हुन्छ ?

त्यो स्वास्थ्य सेवा विभागको डाइरेक्टरसँग सोध्नुभएन ?

उहाँलाई सोधियो, तर कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको संयोजक तपाईं हो, तपाईंहरूको तयारी के छ भनेर बुझ्ने खोजेको हो ।

स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको हो, स्वास्थ्य सेवा विभागका डाइरेक्टरले नै रद्द गरेको हो ।

स्वास्थ्य सेवा विभाग पनि सरकारकै अंग हो । त्यसको नेतृत्वमा तपाईंहरू हुनुहुन्छ । त्यसैले सम्झौता किन रद्द भयो र अब के हुन्छ भन्ने विषयमा जनतालाई चासो छ नि?

मैले भनिहालेँ नि । स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको हो, उहाँले नै रद्द गरेको हो ।

तर, सरकारले तयारी के गरेको छ भन्ने हाम्रो चासो हो ।

हाम्रो तयारी हामीले गरिरहेका छौँ ।

स्वास्थ्य सेवा विभागका डाइरेक्टरले के भन्नुहुन्छ, त्यो सुन्नुपर्‍यो नि तपाईंले । हामी औषधिको अभाव हुन दिन्नौँ । अहिले आएका सामान स्काई ट्रक र गाडीबाट गइरहेका छन् ।

टेस्ट किटहरू जे आएका छन्, त्यसको गुणस्तरमाथि प्रश्न उठेको छ । कोरोना नभएको मान्छेको रिपोर्ट पोजेटिभ आउने र अस्पतालमा बस्ने, तर कोरोना भएको मान्छेको रिपोर्ट नेगेटिभ आउने र बजारतिर डुल्ने स्थिति आयो भने भयावह हुन्छ भनेर विज्ञहरू नै चिन्तित छन् । प्रयोगशालाका प्राविधिक र डाक्टरहरूको पनि यसमा चासो छ । जनता र स्वास्थ्यकर्मीलाई विश्वासमा लिने कर्तव्य तपाईंहरूको हो नि ।

मैले भन्नुपर्ने कुरा तपाईंलाई बताएँ, डाक्टरहरू के–के भन्छन् मैले बुझेको छैन । तर, आवश्यक सामग्री स्वास्थ्य सेवा विभागको अगुवाइमा सबै ठाउँमा गएका छन् । अरू हामीले जान्ने कुरा भएन ।

तर, एकातिर स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै बजारभाउभन्दा २० प्रतिशत बढी मूल्य तिरेर सम्झौता गरेको स्वीकार्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रयोगशालाका प्राविधिकहरूले अहिले आएको टेस्टिङ किट प्रयोग गर्न अस्वीकार गर्नुभएको छ…

त्यस्तो हुँदैन, सबै सामग्री उपयोग हुन्छ ।

देश इमर्जेन्सीमा छ । शुक्रबार तपाईंहरूले निर्णय गरेर सम्झौता गर्नुभयो, शनिबार जहाज पठाउनुभयो । आइतबार सामान आयो । तर, पूरा सामान नआउँदै बुधबार सम्झौता रद्द गर्नुभयो । त्यसमा जनताले जान्न खोज्छन् भने तपाईंहरूमाथि अन्याय नहोला नि ।

यसमा स्वास्थ्य सेवा विभागका डाइरेक्टरले जे बताउनुभयो, त्यही हो ।

यो विपत्तिको वेलामा सरकारले गरेको सम्झौता अचानक खारेज हुँदा जे अवस्था सिर्जना भएको छ, त्यसका लागि कोही त जिम्मेवार होला नि ?

जिम्मेवारी छ । स्वास्थ्य सेवा विभागको डाइरेक्टरले बताइसक्नुभयो नि ।

तर, यो महेन्द्र श्रेष्ठले चलाएको सरकार त होइन नि ? चुनावमा महेन्द्र श्रेष्ठ होइन, तपाईंहरू उम्मेदवार हुनुभएको हो नि ।

स्वास्थ्य सेवा विभागको डाइरेक्टरले जवाफ दिइसक्नुभयो नि ।

तपाईं जनताको प्रतिनिधि, देशको उपप्रधानमन्त्री र कोरोनो नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको संयोजक भएको नाताले तपाईंको जवाफदेहिता रहन्छ । देश इमर्जेन्सीमा छ भनेर शुक्रबार तपाईंहरूले सम्झौता गर्नुभयो, तर बुधबार त्यही खारेज गर्नुभयो । यो खालीपन किन र कसरी आयो ?

यो ठेक्का दिने सम्पूर्ण प्रबन्ध गर्ने स्वास्थ्य सेवा विभाग हो । स्वास्थ्य सेवा विभागका डाइरेक्टरले हस्ताक्षर गरेर सम्झौता भएको छ । तर, हामीलाई भनेअनुसारको सामग्री आएन भनेर उहाँले खारेज गर्नुभयो । उहाँले भनेअनुसारको समयमा सामग्री आएन र आउने छाँट भएन भनेर सम्झौता रद्द गरेको घोषणा गर्नुभयो ।

अब के हुन्छ ?

खाली हुँदैन । जे अभाव छ त्यो पुर्ताल गर्छौँ । औषधि र स्वास्थ्य सामग्रीको अभाव हुँदैन ।

यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।

२० चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको