प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल, केहिदिन अस्पतालमै


मङि्सर १०, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ।

पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवी टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा पुगेका हुन्।

मिर्गौलापीडित प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने देखिएको चिकित्सकको भनाइ छ।

एपेन्डिक्स नामक आन्द्रामा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ। शरीरमा रहेको छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ। यो मलद्वारसँग जोडिएको हुन्छ। एपेन्डिसाइटिस हुनुभन्दा पहिले व्यक्तिको पेट पटक-पटक दुखिरहन्छ।

दुखाइ विस्तारै पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ। दुखाइ विस्तारै बढ्दै जान्छ। कहिलेकाही यो केही समयका लागि आफै निको पनि हुन्छ। फेरि बढ्छ।

एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाक वाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ। एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ।

पेटको दुखाइ सही नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना बढी हुन्छ। यस्तो अवस्थामा चिकित्सकले छिट्टै शल्यक्रिया गर्न सल्लाह दिन्छन्।

क्रोनिक एपेन्डिसाइटिस र एक्युट एपेन्डिसाइटिस दुई प्रकारका हुन्छन् ।

क्रोनिक एपेन्डिसाइटिसको दुखाइ लामो समयसम्म भइरहन्छ। क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा असर गरेपछि यसको लक्षण देखापर्छ। एपेन्डिक्स संक्रमण भए विस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ।बिरामीलाई उठ्न बस्न निकै समस्या हुन्छ। समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न सक्छ। बिरामीले समयमै उपचार पाएन भने मृत्युको नजिक पुग्न सक्छ।

एक्युट एपेन्डिसाइटिस क्रोनिक एपेन्डिसाइटिस जस्तो हुँदैन। यो केही समय वा केही दिनभित्र विकसित हुन्छ। एक्‍कासी पेट दुख्न थालेपछि कतिपय बिरामीले ग्याष्ट्रिक बढ्यो भनेर लापरवाही गर्छन्। त्यसैले सुरुमा यसको पहिचान गर्न अप्ठयारो हुन्छ।

यदि एक्युट एपेन्डिसाइटिस भएमा तत्काल शल्यक्रियाको अवश्यकता पर्छ। एपेन्डिक्समा दिसा रोकिएमा, वा जीवाणुको संक्रमण भएमा वा कुनै अन्य प्रकारको रोकावट भएमा यसले रोगको रुप लिन थाल्छ। यदि दुखाइ छिटो र सही नसक्ने गरी बढ्छ भने यसको संक्रमण पनि बढेको भन्ने बुझिन्छ।यस्तो अवस्थामा शल्यक्रियाको जरुरी पर्छ।

१० मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको